
काठमाडौं । नेपाल पत्रकार महासंघले हालैमात्रै घोषण गरेको निर्वाचन तालिकाप्रति समाजवादी प्रेस संगठनले आपत्ति जनाएको छ ।महासंघले शुक्रबार असार २२ गतेको लागि निर्वाचनको कार्यकतालिका सार्वजनिक गरेपछि शनिबार संगठनका अध्यक्ष विश्वमणी सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति सदस्यता विवाद समाधान नभई निर्वाचनको मिति घोषणा गरिएको भन्दै आपत्ति जनाएका हुन ।

महासंघको निर्वाचन गर्नका निम्ति तयार पारिएको सदस्यता विवरणमा आपत्ति जनाउँदै यसअघि तालाबन्दी गर्नुपरेको घटना सम्झाउँदै उनले अहिले त्यही विवरणका आधारमा निर्वाचन गराउन खोज्नु आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस संगठनसहित प्रगतिशील पत्रकार संघ नेपाल र प्रेस मञ्च नेपालले उक्त सदस्यता विवरणमा आपत्ति जनाउँदै जेठ १४ गते महासंघको केन्द्रीय कार्यालयसहित विभिन्न जिल्ला शाखामा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि जेठ २० गते छलफलका निम्ति विभिन्न संघसंगठनलाई बोलायो । दुई बुँदे सहमति गर्दै तालाबन्दी गर्नुपर्नाका कारणलाई हल गरिने, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, अन्तरजिल्ला स्थानान्तरण र शुद्धीकरणका सम्बन्धमा तालाबन्दी गर्ने तीन संगठनका मागलाई सम्बोधन गरिने प्रतिवद्धता पत्रमा महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले हस्ताक्षर गर्नुभएको थियो । तर, महासंघले प्रतिबद्धताविपरितको सदस्यता विवरणका साथ निर्वाचनलाई अगाडि बढाउन खोज्नु निन्दनीय विषय हो ।’
पत्रकारलाई महासंघको सदस्यताबाट बञ्चित गर्ने र गैरपत्रकारका नाम थप्ने होडबाजीबीच तयार पारिएको सदस्यता सूची खारेज गरिनुपर्ने उनको माग छ । न्यायोचित सदस्यता सूची प्रकाशित नगरी हुने निर्वाचन महासंघलाई निश्चित संगठनको सिण्डिकेट बनाउने परिपञ्च भएकाले आफूहरुलाई त्यस्तो निर्वाचन स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ । उनले सहमतिका साथ सदस्यता विवाद सुल्झाउन र निर्वाचन कार्यक्रम ल्याउन महासंघ नेतृत्वलाई आग्रहसमेत गरेका छन् ।