जेठ १४ बिहीबार ,काठमाडौं ।आज देशका केही भागमा अत्यधिक गर्मी महसुस हुने सम्भावना रहेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको अनुमान गरिएको छ। जल तथा मौसमसम्बन्धी निकायका अनुसार हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा देखिएको छ।
दिउँसोको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने अनुमान छ। अन्य तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।
विशेषगरी कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
बागमती र गण्डकीका तराई जिल्लाका केही स्थानमा समेत चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने तथा तातो हावा चल्न सक्ने अनुमान छ।
रातिको समयमा देशभर सामान्यदेखि आंशिक बदली कायम रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका थोरै क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।
यससँगै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्