नुवाकोट । नेपाली कांग्रेसको संस्थापन पक्षले आयोजना गरेको भनिएको अधिवेशन प्रक्रियालाई लिएर नुवाकोटमा फेरि प्रश्न उठेको छ। तादी गाउँपालिकाका दुई वडामा अधिवेशन हुनुअघि नै कांग्रेस केन्द्रीय कार्यालयको वेबसाइटमा नयाँ सभापतिको नाम सार्वजनिक भएपछि अधिवेशन प्रक्रियामाथि प्रश्न उठेको हो।
तादी गाउँपालिका–५ र ६ मा भोलि वडा अधिवेशन हुने तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय कार्यालयको मुख्य वेबसाइटमा भने ती वडाका सभापतिको नाम आजै अपलोड गरिएको देखिएको छ।
वेबसाइटमा तादी गाउँपालिका–६ को सभापतिमा केशव थापा र वडा नं. ५ को सभापतिमा सहदेव उप्रेतीलाई नयाँ सभापतिका रूपमा उल्लेख गरिएको छ। तर, सम्बन्धित वडामा औपचारिक अधिवेशन नै हुन बाँकी रहेको अवस्थामा सभापतिको नाम वेबसाइटमा सार्वजनिक भएपछि अधिवेशनको वैधानिकता र प्रक्रियाबारे प्रश्न उठेको हो।
अधिवेशनअघि नै नेतृत्वको नाम सार्वजनिक हुनु सामान्य प्राविधिक त्रुटि हो वा अधिवेशन प्रक्रियाकै विषयसँग जोडिएको विषय हो भन्नेबारे कांग्रेसभित्र चर्चा सुरु भएको छ।यस विषयमा कांग्रेस निर्वाचन समितिकाे प्रतिक्रिया लिने हाम्रो प्रयास सफल हुन सकेन ।
कांग्रेस तादीका कतिपयले भने काेठामा बसेर हिजाे नै नाम पठाएको हुनसक्ने भन्दै यसले संस्थापनपक्षकाे चरित्र र हैसियतमाथि प्रश्न उठेको छ । नुवाकोट १ जहाँ डा प्रकाशशरण महत र अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसीकाे जन्मथलाे भएकोले वडातहसम्म राम्रै विवाद हुने देखिएको छ ।
कांग्रेसभित्र अहिले एकातिर वडा अधिवेशन र प्रतिनिधि छनोटको प्रक्रियालाई लिएर विवाद देखिएको छ भने अर्कोतिर अधिवेशन सम्पन्न हुनुअघि नै नेतृत्वको नाम सार्वजनिक भएको घटनाले थप प्रश्न जन्माएको छ। विशेषगरी लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने दाबी गर्दै आएको पार्टीमा यस्तो अवस्थाले तल्लो तहसम्मको संगठनात्मक प्रक्रियामाथि चासो बढाएको छ।
पार्टीभित्रको आन्तरिक विवाद क्रमशः वडा तहसम्म पुगेको कांग्रेसका स्थानीय कार्यकर्ताहरू बताउँछन्। विवादका कारण एकता र संवादको वातावरण कमजोर बन्दै गएको तथा आरोप–प्रत्यारोप बढ्दै गएको उनीहरूको गुनासो छ।
अधिवेशन हुनुअघि नै वेबसाइटमा सभापतिको नाम कसरी र कुन प्रक्रियाबाट सार्वजनिक भयो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने मागसमेत उठ्न थालेको छ।
अधिवेशनबाट नेतृत्व चयन हुनुअघि नै वेबसाइटमा नेतृत्वको नाम सार्वजनिक भएको यो घटनाले कांग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यास र अधिवेशन सञ्चालन प्रक्रियाबारे थप प्रश्न निम्त्याएको छ।कांग्रेसभित्रको यो अस्तव्यस्तताले अहिले कांग्रेस कुन तहमा पुगेको छ भन्ने कुराको आँकलन गर्न सकिने नुवाकोट कांग्रेसका आत तहका कार्यकर्ताको बुझाई रहेको छ ।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्