विदुर । संवैधानिक व्यवस्था अनुसार जिल्लाका १२ पालिकाले पर्सी १० गते आर्थिक वर्ष २०७९।०८० का लागि बजेट प्रस्तुत गर्ने भएको छन् । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा दोस्रो कार्यकालका लागि निर्वाचित नयाँ नेतृत्वले विगतमा जस्तै कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पुर्वाधारमा विशेष जोड दिएर बजेट ल्याउने तयारी गरेका छन् । विदुर नगरपालिकाले स्वच्छ शहर राम्रो रहर भन्ने प्रतिवद्धताकासाथ सिंगो नगरको विकासका लागि बजेट ल्याउने तयारी गरेको मेयर राजन श्रेष्ठले बताए । यस्तै बेलकोटगढी नगरपालिकाले पनि कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पुर्वाधार र पर्यटनको विकास लागि बजेट ल्याउने तयारी गरेको उपमेयर शिव दाहालले जानकारी दिए ।
१० गाउँपालिका रहेको शिवपुरी, तादी, लिखु, पञ्चकन्या, ककनी, किस्पाड., मेघाड.ले, तारकेश्वरले पनि विगतमा जस्तै कृषि ,स्वास्थ्य, शिक्षामा जोड दिएर बजेट ल्याउने तयारी गरेका छन् । सरकारले नुवाकोट जिल्लामा रहेका १२ पालिकाका लागि ३ अर्ब ४४ करोड ९ लाख बजेट अनुदान प्रदान गरेको छ । अर्थमन्त्रालयले नुवाकोट जिल्लाको पुरानो नगरपालिका विदुरका लागि सबैभन्दा बढि बजेट विनियोजन गरेको छ । यो सँगै नगरको आर्थिक स्रोतलाई समेत जोडेर झण्डै १ अर्बको बजेट ल्याउने तयारी गरेको छ । मन्त्रालयले बिदुर नगरपालिकालाई ५२ करोड ९४ लाख विनियोजन गरेको छ । यस्तै जिल्लाकै दोस्रो नगरपालिका बेलकोटगढी नगरपालिकालाई ४३ करोड १० लाख विनियोजन गरेको छ ।
बेलकोटगढीले पनि नगरको आयस्रोतलाई समेत जोडेर थप बजेट ल्याउने मयेर जगत लामाले जानकारी दिनुभयो । यस्तै गाउँपालिकाहरुमा शिवपुरी गाउँपालिकालाई ३२ करोड २ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटसँगै पालिकाको आयस्रोलाई ध्यान दिएर बजेट ल्याउने अध्यक्ष गोविन्द थपलीयाले जानकारी दिनुभयो ।
उक्त गाउँ पालिकाले सबैभन्दा बढि बजेट पाएको छ । बजेट बक्तव्यमा उल्लेख गरिए अनुसार ककनी गाउँपालिकालाई ३० करोड ६८ लाख, किस्पाङ गाउँपालिकालाई २२ करोड १६ लाख, तादी गाउँपालिकालाई २३ करोड ८६ लाख,तारकेश्वर गाउँपालिकालाईः– २२ करोड ८ लाख,दुप्चेश्वर गाउँपालिकालेः– २६ करोड ७१ लाख पन्चकन्या गाउँपालिकालाइः– २२ करोड २५ लाख,लिखु गाउँपालिकालाईः– २३ करोड ९६ लाख,सुर्यगढी गाउँपालिकालाइः– २३ करोड ७८ लाख, म्यागङ गाउँपालिकालाई २० करोड ५५ लाख बजेट विनियोजन गरिएको छ ।
विगतमा स्थानीय सरकारले विभाजन गरेर खर्च गर्ने गरेको भएपनि स्थानीय तहमा धेरै रकम बेरुजी रहेको महालेखा परिक्षकको कार्यालयले प्रतिवेदन पेश गर्ने गरेको छ ।