विदुर । चीन सरकारले नेपालको विकासका लागि ८० अर्ब रुपियाँ सहयोग गर्न सक्ने प्रतिवद्धता जनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच हालै केही दिनअघि भएको भेटवार्ताका क्रममा चीन सरकारले टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्न सकारात्मक जवाफ दिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री डा महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुराको प्रतिवद्धता जनाउनु भएको थियो । सो भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब उपलब्ध गराउन सक्ने जानकारी गराउनुभएको जनाइएको छ ।
यस्तै भेटका क्रममा मुस्ताङ, रसुवागढीलगायत अन्य पहाडी भू–भागसमेतमा सुरुङ मार्ग बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ । सो भेटमा चीनबाट नेपाल भित्रिने पर्यटकको संख्या बढाउने विषयमा पनि छलफल भएको बताइएको छ । टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला चीनका राष्ट्पपति सि जिड.पिड.बीच सहमति भएको थियो ।
सहमति अनुसार चीन सरकारले त्यसको डीपीआर समेत तयार पारिसकेको छ । अब यसको पूर्ण अध्ययन गरेर काम अघि बढाउने विषयमा चीन सकारात्मक भएको छ । नेपाल, भारत र चीनसँग व्यावारिक कारोबारका लागि सहज मानिएको उक्त सुरुड.मार्ग निर्माण भएको खण्डमा नुवाकोट र रसुवा जिल्ला व्यापारिक हव बन्ने देखिन्छ ।