
नुवाकोट, साउन १२ । नुवाकोट जिल्लाकोे शिवपुरी गाउँपालिका क्षेत्रमा गएराति देखिको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा जनजीवन प्रभावित भएको छ। गाउँपालिका–४ को लप्सेमा स्थानीय ठाकुर थापाको गोठ समेत पहिरोले बगाएको छ। घरमा आंशिक क्षति पुगेको र गोठमा रहेका सामग्री तथा संरचनामा क्षति पुगेको छ । पशुचौपाया भने उद्धार गरिएको छ।
यस्तै, गुर्जे खोलेगाउँ सडकखण्डअन्तर्गत खोलेगाउँमा खसेको पहिरोले रोजु लामाको मोटरसाइकल पुरिएको छ। ठूलो मात्रामा माटो र ढुंगामाटो थुप्रिँदा सवारी आवागमन बन्द भएको छ ।
मध्यपहाडी लोकमार्ग नजिकै शिवपुरी–५ को सिलामेतर्फ जाने चोक नजिक ठूलो रुख ढलेको र अर्को सिलामे सडकखण्डमा समेत आवागमनमा अवरोध सिर्जना भएको छ। स्थानीयवासीका अनुसार राति करिब ११ बजेपछि लगातार खसेका पहिरोका कारण कतिपय ठाउँमा आवागमनमा अवरोध सिर्जना भएको छ।
मानवीय क्षति भने भएको छैन। तर थप पहिरोको सम्भावना रहेकाले गाउँपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ। सडक खुलाउने तथा जोखिम मूल्याङ्कनका लागि स्थानीय तह र प्रशासनको टोली परिचालन गर्ने तयारी भइरहेको र अवरुद्ध सडक सञ्चालनका लागि जेसीबी ल्याउने तयारी मिलाइएको गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए।