
ललितपुर, गोदावरी नगरपालिकाकाले जनप्रतिनिधिहरूको विषयमा तथ्यहिन समाचार प्रकाशन र प्रसारण गरेको भन्दै एक अनलाईन विरुद्ध प्रेस काउन्सिल नेपालमा उजूरी दिएको छ । नगरपालिकाका मेयर गजेन्द्र महर्जनले प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।
नगरपालिका मेयर महर्जनले काउन्सिलमा बुझाएको उजूरीमा माहाँकाल नेटवर्क प्रालिका नाममा सञ्चालित ललितखबर डटकम नामक संचारमाध्यमबाट बिनाप्रमाण तथ्यहीन आधारहीन अपुष्ट आरोपहरु लगाई समाचार प्रकाशन तथा प्रसारण गरेको उल्लेख छ । यस्तै उजुरीमा उक्त अनलाइनका सञ्चालक र पत्रकारका सोही समूहले नै कपोकल्पित ढंगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अनुसन्धान गर्ने निकायहरूमा उजुरी दिने नगरपालिकाका विकास लगायतका काम कारबाहीलाई समेत प्रभावित पार्ने प्रयास भइरहेको समेत दावी गरिएको छ ।
निवेदनमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरु लगाई समाचार प्रकाशन तथा प्रसारण गर्ने अनलाइन सञ्चार माध्यम ललितखबर डटकम र समाचार लेख्ने पत्रकार दुवैलाई प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) बमोजिम आवश्यक हदै सम्मको कारबाहीको माग गरिएको छ । नगरपालिकाले उजुरीको बोधार्थ प्रति अख्तियर दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाएकोे उजूरीपत्रमा उल्लेख गरिएको छ ।