
काठमाडौं । प्रमुख सत्तारुढ दलहरुको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेका छन् । आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् । कोशीमा गत
शुक्रबार एमाले नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि आइतबार प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको आह्वान गरेका छन् ।
तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विवाद थियो । दलहरुबीच भएको सहमति अनु्सार पहिला चरणमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरिएको एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
प्रचण्ड सरकारलाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेसले यतिखेर चार वटा प्रदेशको नेतृत् वगर्ने अवसर पाएको छ । यस्तै राष्ट्पतिदेखि केन्द्र सरकारसम्म कांग्रेस सहभागि भएसँगै सभापति देउवाको आलोचना गर्नेहरु मत्थर बनेका छन् ।
बैठकमा नेपाली कांग्रेसका उपभापति पूर्णबहादुर खड्कासहित नेताहरु सहभागि भएका थिए भने माओवादीबाट प्रधानमन्त्री, गृहमन्त्री र एकिकृत समाजवादीबाट पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे , जनता समाजवादीबाट अध्यक्ष उपेन्द्र यादव सहभागि भएका थिए . एमाले माओवादीको गठबन्धन टुटेसँगै नेपाली कांग्रेससहित माओवादी, एकिकृत समाजवादी,जनता समाजवादी र जनमोर्चाको गठबन्धन कायम रहेको छ ।