
३० भदौ, विराटनगर । भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोरमा पनि एउटा शव फेला परेको छ ।
जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपर मार्केटमा सोमबार जलेको अवस्थामा शव फेला परेको हो ।मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सोमबार दिउँसो दोस्रो तल्लामा जलेको अवस्थामा शव फेला परेको जानकारी दिए ।
जेनजी आन्दोलनकारीका नाममा अराजक समूहले गत भदौ २४ गते आगजनी गरेर भाटभटेनी ध्वस्त पारेको थियो । भाटभटेनी सरसफाइ गर्ने क्रममा कर्मचारीले शव फेला पारेका हुन् । जलेको अवस्थामा भएका कारण पहिचान खुलेको छैन । शुक्रबार भाटभटेनीको धरान शाखमा ४ जनाको शव फेला परेको थियो ।