
विदुर । नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि शिक्षकबाट नै सुरु गरेको छ । गाउँपालिकाले आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोरा छोरीलाई निजी विद्यालयमा पढाउन नपाउने नियमलाई कडाईकासाथ कार्यान्वयनमा ल्याएको छ ।
यस्तै जनप्रतिनिधिहरुले पपनि सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा छोरा छोरी नपढाउने शिक्षकको तलब समेत रोक्का गरेको छ । निजी विद्यालयमा पढाउने केही शिक्षकको तलब रोक्का गरेको गाउँपालिकाले आगामी शैक्षिसत्रदेखि सामुदायिक विद्यालयमा नै पढाउने प्रतिवद्धता जनाएपछि तलब भुक्तानि गरेको थियो । यस्तै अन्य शिक्षकहरुलाई पनि यस्तै प्रतिवद्धता जनाउँदै तलब निकासा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले सामुदायिक विद्यालयको स्तरलाई बढाउन र अन्य सर्वसाधारणलाई पनि सरकारी विद्यालयका शिक्षकले पनि आफूले पढाउने विद्यालयमा नै छोराछोरी पढाएका छन् भन्ने सन्देश जाने हुनाले यस्तो निर्णय गरिएको जानकारी दिनुभयो । उहाले आगामी वर्षदेखि यसलाई कडाईकासाथ लागू गरिने पनि जानकारी दिनुभयो । सुर्यढीमा झण्डै तीन दर्जन विद्यालयहरु रहेका छन् । पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोरा छोरीलाई नीजि विद्यालयमा पढाएको विषयमा देशभरबाटै सरकारी शिक्षकको आलोचना हुने गरेको छ ।
यद्यपि सामुदायिक विद्यालयका शिक्षकहरुले भने यसमा असहमति जनाएका छन् । कतिपयले आफ्ना छोराछोरीलाई समय परिस्थिति अनुसार उनीहरुको रोजाइको ठाउँमा पढाउन पाउनुपर्ने समेत बताएका छन् । गाउँघरमा पढ्ने उमेश समूहका बालबालिकाहरु नबस्ने अवस्थाका कारण धेरै विद्यालयहरु बन्द हुने अवस्थामा पुगेका छन् । सञ्चालनमा रहेका र नाम चलेका भनिएका विद्यालयहरुमा पनि विद्यार्थीको संख्या भने अत्यन्त न्युन रहेको छ ।
अर्कोतर्फ पुराना र तालिम नभएका, उमेश पाकेका शिक्षकहरु भएकाले पनि सामुदायिक विद्यालयको पढाई नीजिको तुलनामा कमजोर देखिदै आएको छ । सुर्यगढीको यो निर्णयले सामुदायिक विद्यालयको सुधारमा थोरै भने पनि सहयोग पुग्ने सरोकारवालाहरुले बताएका छन् ।