
काठमाडौँ । सरकाले जेठल १० गते पेश गरेको आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । बजेट पारित भएसँगै सरकारलाई साउन १ गतेबाट खर्च गर्ने बाटो खुलेको छ । प्रतिनिधिसभाबाट यसअघि नै पारित भैसकेको भएपनि राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।
प्रतिनिधिसभामा भने बजेटका विषयमा सत्ता पक्ष र प्रतिपक्षी दलहरुले समेत विरोध जनाएका थिए । तर प्रधानमन्त्री र अर्थमन्त्रीले बजेटका विषयमा सत्ता पक्षका सांसदहरुलाई आस्वस्त पारेपछि मात्रै प्रतिनिधिसभाबाट पारित भएको थियो । आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो ।