
नेपाल प्रेस काउन्सिल अध्यक्षलाई प्रतिवेदन बुझाउँदै विज्ञ समूहको टोली ःतस्बिर ः प्रेस काउन्सिल नेपाल
काठमाडौँ । पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनमा आइतबार सुझावसहितको प्रतिवेदन बुझाएको प्रेस काउन्सिल नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
समूहका सदस्य एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष महेन्द्र बिष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पूराना र नयाँ सञ्चार माध्यमको नियमन लगायतका विषयमा विस्तृत सुझाव दिइएको जानकारी दिनुभयो । उहाँले सूचीकृत भएर तथा नभइ सञ्चालनमा रहेका अनलाइनका विषयमा काउन्सिलले गरिरहेको अभ्यास, पत्रकार आचारसंहिता, हाल भइरहेको नियमनको कार्यलगायतमा कानुनी र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सुझाव दिइएको पनि जानकारी दिनुभयो ।
यस्तै विज्ञ तारानाथ दाहालले प्रतिवेदनको सुझावका आधारमा काउन्सिलले तत्काल सुधारसहितको कार्य थाल्ने विश्वास व्यक्त गर्नुभयो यस्तै विज्ञ बबिता बस्नेतले चुनौतिका रूपमा रहेको अनलाइन र युट्युबका नयाँ विषयमा प्रतिवेदनमा समेटिएको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले विज्ञको सुझाव काउन्सिल र नेपाल पत्रकार महासङ्घ लगायत सबैखाले सञ्चार माध्यम र नागरिकका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिवेदन ग्रहण गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आवश्यकता महशुस गरेरै विज्ञ समूहलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै सुझावहरूको अनुशरण र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । (प्रेस काउनिसल नेपालबाट)