
काठमाडौं . नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहँदा पार्टीभित्र विभिन्न विषयमा एक केन्द्रीय सदस्यहरुले विभिन्न प्रश्न तेर्साएका छन् । आजको बैठकमा बोल्ने नेताहरुले पार्टीको रुपान्तरणको मुद्दा लिएर जिल्ला जाने नेताहरुले कसको निर्णयको आधारमा जानुभयो, यसको जवाफ कस्ले दिने भनेर प्रश्न गरेका छन् ।
केन्द्रीय समितिमा बोल्ने नेताहरुले पार्टीका नेता बालकृष्ण खाँड पक्राउ परेको विषयमा गृहमन्त्रीलाई भेटेर बधाई दिएकोमा पनि आपत्ति जनाएका थिए । उनीहरुले अनुशासनको विषयमा गम्भीर रुपले निर्णय गर्नुपर्ने समेत माग राखेका छन् । उनीहरुले संसदीय दलको नेता परिवर्तन गर्ने महामन्त्री गगन थापाको भनाईप्रति समेत आपत्ति जनाएका थिए ।
बैठकमा लामो इतिहास निर्माण गरेका नेताहरुलाई सार्वजनिक स्थलमा गएर आलोचना गर्ने काम गलत भएको समेत बताएका थिए । बैठकमा नेपाली कांग्रैसले मुलुकमा ठुला परिवर्तनको नेतृत्व गरेको भन्दै यसको प्रचार भन्दा गर्नुभन्दा पनि पार्टीका नेताहरुको आलोचनामा खर्चिएको विषयमा पनि आपत्ति जनाएका थिए ।
बैठकमा कांग्रेस केन्द्रीइ सदस्य आनन्दप्रसाद ढुंगानाले क्रियाशिल सदस्य वितरणका विषयमा आफ्नो धारणा राख्नु भएको थियो । बैठकमा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बढुले पार्टीका पदाधिकारीहरुबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । महामन्त्रीहरुले पार्टी सभापति भेलामा केन्द्रीय सभापति उपस्थित गराउन नसक्नु उहाहरुको कमजोरी रहेको उल्लेख गर्नुभयो । उहाले पार्टीका पदाधिकारीहरु सिंगो संस्था भएकाले बोल्दा विचार गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै उहाले सरकारको कामका विषयमा पनि समिक्षा हुनुपर्नेमा जोड दिनुभएको थियो ।केन्द्रीय सदस्य बढुले भ्रष्टाचारमा नेपाली कांग्रेस निमर्म रुपले प्रस्तुत हुँदै सरकारलाई समर्थन गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वी.पी.स्मृति भवन, वी.पी. नगर, ललितपुरमा आज बसेको बैठकमा ३३ जनाले बोल्नु भएको थियो ।
आजको बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा. आरजु राणा देउवा, जीतजंग बस्नेत, राजीव ढुंगाना र अञ्जनी श्रेष्ठले आ–आफ्ना धारणा राख्नु भएको थियो । अर्को बैठक श्रावण ७ गते आइतबार विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।