
विदुर । नुवाकोट जिल्लामा सञ्चालित यसार्वजनिक यातायातका चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । समुदाय प्रहरी साझेदारीको अवधारणा अनुरुप चालकसँग १ दिन कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजनामा त्रिशुली अस्पताल नुवाकोटका चिकित्सकहरुको सहयोगमा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

चालकहरु अस्वस्थ, बिरामी, थकित तथा स्वास्थ्यमा समस्या आइ सवारी साधन चलाउँदा हुन सक्ने सम्भावित सवारी दुर्घटना र त्यसबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ चालकहरुको स्वास्थ्य परिक्षण गरिएको कार्यालयले जनाएको छ । सो अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्का, जि.ट्रा.प्र.का. नुवाकोटका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजिव कुमार तिवारी, त्रिशूली अस्पताल नुवाकोटका डा. बिष्णुमहरी मरहठ्ठा सहितको टोलीहरुको सहभागितामा शनिबार ०७ः०० बजे देखि १०ः०० बजेसम्म स्वास्थ्य जाँच गरिएको थियो ।

पासाङ ल्हामु राजमार्ग अन्तर्गत गल्छी –त्रिशूली सडक खण्ड भएर आवत जावत गर्ने विभिन्न ३९, ट्रक÷टिप्पर–१९, माईक्रो बस–१६, पिकअप भ्यान–२१, मो.सा.–५, अटो–४ गरी जम्मा १०४ वटा सवारी साधनहरुका चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको जनाइएको छ । चेकजाँचमा रक्तचाप, दृष्टि दोष र सुगरको मात्रा चेकजाँच गरिएको थियो, जसमा २१ जना चालकहरुमा उच्च रक्तचाप, ११ जना चालकरुमा दृष्टि दोष र १५ जना चालकहरुमा सुगरको मात्रा बढी भेटिएकोमा आवश्यक उपचारको लागि उचित परामर्श दिईनुका साथै सहभागी सम्पूर्ण चालक तथा सह–चालकहरुलाई सवारी दुर्घटना न्यूनीकरण र स्वास्थ्य सम्बन्धि आवश्यक प्रशिक्षण समेत दिई कार्यक्रम सम्पन्न गरिएको थियो ।