
विदुर । सामुदायिक विद्यालयको अवस्था खस्कदै गैरहेको बेला नुवाकोट जिल्ला सदरमुकाम विदुरमा रहेको पृथ्वी माथिले बागमती प्रदेश स्तरमा नै उत्कृष्टता हासिल गरेपछि अहिले विद्यालयलाइई बधाईको ओइरो लागेको छ । विदुर नगरपालिका अन्तर्गत वडा नम्बर ४ विदुरमा रहेको विद्यालयको २०७९ को एसइई परीक्षाको नतिजा बागमती प्रदेशभरिको दोस्रो उत्कृष्ट रहेको भन्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले पुरस्कृत गरेको समाचारसँगै सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट विद्यालयको प्रशंसा गरिएको छ ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पनि आफ्नो नगरभित्र रहेको सामुदायिक विद्यालयलले उत्कृष्ट स्थान हासिल गरेको भन्दै विद्यालयलाई बधाई दिएका छन् . मेयर श्रेष्ठको सचिवालयले भनेको छ, विदुर नगरपालिका अन्तर्गत वडा नम्बर ४ विदुरमा रहेको पृथ्वी माध्यमिक विद्यालयको २०७९ को एसइई परीक्षाको नतिजा बागमती प्रदेशभरिको दोस्रो उत्कृष्ट रहेको र सामाजिक विकास मन्त्रालयले पुरस्कृत गरेको खबरले हामी सबैलाई गौरवान्वित बनाएको छ ।

अत्यन्त कम स्रोत साधनमा सञ्चालन भएको र विदुर नगरभित्र पनि प्रतिविद्यार्थी लागत सबभन्दा न्यून रहेको उक्त विद्यालयले देखाएको यो सफलताले विदुर नगरपालिका र सिङ्गो नुवाकोट जिल्लाको शिर उच्च बनाएको मात्र छैन सार्वजनिक शिक्षाको सुधारका लागि सोच्ने तरिका समेत सिकाएको छ । पृथ्वी माविका शिक्षक, विद्यार्थी, व्यवस्थापक, अभिभावक लगायत सबैलाई बधाई ! यो उपलब्धिका लागि विदुर नगरपालिका गौरव गर्दछ । यस्तै समाजिक सञ्जाल मार्फत पनि पनि विद्यालयको प्रशंसा गर्दै थप प्रगतीको कामना गरिएको छ । उक्त विद्यालय एसइई २०७९ मा सामुदायिक विद्यालयहरुमा पहिलो भएको थियो । उक्त विद्यालयबाट एसइई दिएका दुई विद्यार्थीले ३.९५ जिपिए ल्याएका थिए भने अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए ।