
श्रीराम श्रेष्ठ(लेखक, साहित्यकार तथा नेपाली कांग्रेस नुवाकोटका सचिव हुनुहुन्छ)
भाका, भूल, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।।
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ।”
– लेखनाथ पौड्याल
जीवनको शाश्वत सत्य मृत्यु नै हो । त्यसैले मृत्युलाई कुनै न कुनै समयमा सहर्ष स्वीकार गर्नु नै पर्दछ । जीवनको स्वभाविक लक्ष्य मृत्युमै गएर अन्त्य हुन्छ । मृत्युको सत्यलाई मानवको जीवनले चाहेर होस् वा न चाहरेर अँगाल्दै आइरहेको छ तर मानिसको मृत्युभन्दा पनि उसले जीवनभर गरेको कर्मको आधारमा मृत्युको स्वभाविकतालाई मूल्याङ्कन गरेर हेरिन्छ । जीवनका समयहरूलाई कति सार्थक र कति विशिष्टतापूर्ण कर्महरूद्वारा सिञ्चित गर्न सकिएको छ । यस्तै विशिष्ट व्यक्तित्व थिए– संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ । उनको जीवन देश र जनताको सेवामा क्रियाशील रहँदै सार्थक रूपमा बित्यो । उनको निधनले आज सम्पूर्ण देश शोकमग्न बन्न पुगेको छ । बिहीबार उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेम्वाङ बालुवाटारस्थित आफ्नै निवासमा शौचालय जाँदा लडेर हृदयघात भएपछि उपचार गर्ने क्रममा त्रि.वि शिक्षण अस्पतालमा लाने क्रममा बाटोमा नै मङ्गलबार राति १ः५० बजे निधन भएको थियो । नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । मङ्गलबार नै बसेको नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले संविधान निर्माणमा योगदान पु¥याएको भनेर नेम्वाङलाई राजकीय अन्त्येष्टि गर्ने निर्णय गरेको हो । नेम्वाङको निधनमा शोक व्यक्त गर्दै बुधबारका लागि बोलाइएको संसद्को बैठकसमेत स्थगित गरियो । अन्त्येष्टिका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय ग¥यो ।
नेम्वाङका दुई छोराहरूले उहाँलाई दागबत्ती दिएका थिए । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।
त्यस्तै नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले नेम्वाङको मृत आत्माको चीरशान्ति व्यक्त गर्दै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका थिए । राजदूत थम्पसनले लोकतान्त्रिक र समृद्ध नेपाल निर्माण गर्न नेम्वाङको प्रतिबद्वता धेरैको लागि प्रेरणादायी हुन सक्छ भनेका छन् ।
सुवास नेम्वाङ प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका उपाध्यक्ष समेत रहेका थिए । इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते पिता रामबहादुर नेम्वाङ र माता अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम जिल्लाको सुन्तलाबारीमा जन्मिएका थिए । उनका श्रीमती र ४ सन्तानमध्ये दुई छोरा र दुई छोरी छन् । उनी इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका छन् । २०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसद बनेका थिए । २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसद्मा समेत सभामुख बनेका थिए ।
नेपालमा पहिलो पटक गठन भएको ऐतिहासिक संविधानसभाका नेतृत्वकर्ता थिए । पहिलो र दोस्रो ऐतिहासिक संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । संविधानसभाको गठन र संविधान निर्माणमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । २०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समितिको सभापति बनेका थिए । उनकै कार्यकालबाट संसदीय समितिमा पत्रकारलाई प्रवेश दिन सुरू भएको हो । नेम्वाङ वि.स. २०२८ देखि राजनीतिमा सव्रिmय भएका थिए । स्नातक अध्ययनका क्रममा २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका नेम्वाङ राजनीतिमा निरन्तर सक्रिय थिए । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोओर्डिनेशन केन्द्र मालेमा सङ्गठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८मा एमालेको उपाध्यक्ष बनेका थिए । पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्दमा परेका नेम्वाङ प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना जेलसमेत परेका थिए । वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङले केही समय नेपाल ल क्याम्पसमा पढाएका थिए । प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिवसमेत रहेका थिए ।
नेपाली राजनीतिका एक अनुभवी र जिम्मेवार व्यक्तिका रूपमा चिनिएका सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि प्रस्तुत गरेका छन् । कानुनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका–ससद्को नेतृत्व सम्हाले । उनले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई संवादमार्फत् नै समस्या समाधानका लागि निरन्तर प्रेरणा दिंदै आएका थिए । जीवनको अन्तिम क्षणसम्म सङ्घीय ससद्मा सत्तापक्ष र प्रतिपक्षका कारण उत्पन्न परिस्थितिमा राजनीतिक र कानुनी पाटोबाट आउने समस्या समाधान गर्न मुख्य सूत्रधारको भूमिका निर्वाह गर्दै आएका थिए । नेपालको संविधान बनाउने काममा संविधानसभाको अध्यक्ष भएर राम्रो भूमिका निर्वाह गरेपछि उनको छवि अन्तर्राष्ट्रिय बन्न पुगेको विश्लेषण धेरै राजनीतिज्ञहरूले गरेका छन् । संविधान निर्माणजस्तो ऐतिहासिक जिम्मेवारी पूरा गरेका कारण पनि उनलाई नेपाली जनताले कहिल्यै पनि बिर्सने छैनन् । संविधान जारी भएपछि यिनले संविधानको सबल पक्षका बारेमा प्रशिक्षणसमेत दिएका थिए ।
नेपालको सबै जाति, भाषा, धर्म, संस्कृति र भौगोलिक विविधतामा एकता खोज्ने नेताका रूपमा पनि उनलाई मानिन्छ । सबैको विविध पहिचानलाई सम्मान गर्दै बहुपहिचानको अविचलित हिमायतीका रूपमा आफूलाई उभ्याउन सफल साझा नेता पनि हुन् उनी । सभामुख भएर उनले गरेको काम र सदन सञ्चालनमा सबै दललाई गर्ने समन्वयात्मक भूमिकाका अनुकरणीय र अनुसरणीय रहेको छ ।
सुवास नेम्वाङ सरल स्वभावका मृदुभाषी नेता थिए । वैचारिक आलोचना गर्दा पनि सरल शब्दमा विषयगत र आदरार्थी शब्दको प्रयोग गर्ने विशेषता उनको थियो । आफूलाई मनमा लागेका कुराभन्दा पनि अरुलाई नबिझाउने शब्द चयन गर्ने कला प्रशंसनीय थियो । हाँसेर बोल्ने, कहिल्यै नरिसाउने सरल स्वभावका धनी उनलाई सबैले मन पराउँथे । कम्युनिष्ट आन्दोलनको विकास तथा समाजवादी आन्दोलनमा ठूलो योगदान पु¥याएका नेम्वाङ नेपाली राजनीतिका एक असल र सादगी नेता हुन् । देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समाजवाद उन्मुख गराउने वर्तमान संविधान निर्माणमा अहम् भूमिका निर्वाह गर्ने उनी यस संविधान जनताले–जनताका लागि बनाएको संविधानको रूपमा व्याख्या गर्ने व्याख्याता हुन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्ने कदम नउठाउन उनले सल्लाह दिएका थिए । यो विषयमा पार्टीबिचमा उनको केही आलोचना पनि भएको थियो तर उनी आफ्नो अडानमा अडिग देखिएका थिए । उनी फाल्गुनमा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेवारसमेत बनेका थिए । राजनीतिक नेता र संवैधानिक ज्ञाता मात्र होइन; एक बहुआयामिक व्यक्तिका रूपमा देखिएका उनको निधनबाट नेपाली राजनीतिले अविस्मरणीय र अतुलनीय योगदान दिने व्यक्तित्व गुमाएको छ । श्रद्धेय सुवास नेम्वाङ राष्ट्रको नेता, असल मानिस भएर सार्थक जीवन बाँचेर राष्ट्र र जनताका लागि सकेजति राम्रा काम गरेर बिदा भएका छन् । शालीन, सहज, मृदुभाषी र सादगी नेताका छवि बनाएका एक सफल व्यक्तित्व पनि हुन् नेम्वाङ । देश र जनताको शिर ठाडो पार्ने काम गरेर मृत्युलाई वरण गरेका सुवास नेम्वाङलाई आम नेपाली जनताले सदैव स्मरण गरिरहने छन् ।
हामी अजर र अमर छैनौ । मानिसको जन्मसँगसँगै मृत्यु आएको छ । हामी मृत्युलाई जीवनको विपरीत भाग हो भनेर स्वीकार्न बाध्य छौँ । मृत्यु भनेको अन्तिम सत्य हो । मृत्यु सबै सजीव जीवलाई आउँछ । केवल ढिलो र चाँडो भन्नेमात्र हो । असल मानिसलाई मृत्युले चाँडै लगेको दृष्टान्त धेरै छ । जति बाँचिन्छ अर्थपूर्ण जीवन बाँच्नुपर्छ भन्ने पाठ नेम्वाङको व्यक्तित्वले झल्काएको छ ।अन्त्यमा सुवास नेम्वाङको आत्मशान्तिका लागि भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्छु ।
लेखक नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव तथा नुवाकोट आददर्श बहुमुखी क्याम्पस बट्टारका अध्यक्ष हुनुहुन्छ ।