
हेटौडा । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सर्वसाधारण पहुँचलाई सहज बनाउन महत्वपूर्ण निर्णय गरिरहेको छ । पछिल्लो पटक मन्त्रालयले क्यान्सरको उपचारका लागि संघीय सरकारले दिएको रकम खर्च गरिसकेपछि थप ५० हजार दिने भएको छ । प्रदेश सरकारको यो निर्णयसँगै अब बागमती प्रदेशका क्यान्सर पिडीत बिरामीले सरकारबाट १ लाख ५० हजार सहयोग पाउनेछन् ।
यस्तै प्रदेश सरकारले प्रदेश सरकारले हृदय रोगको उपचारका लागि रु। एक लाख १० हजार, रगत निःशुल्क, सीमान्तकृत जातिको स्वास्थ्य बिमा, आश्रितको स्वास्थ्य बिमा, स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमालगायतका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम ल्याएको छ। प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यो महत्वपुर्ण निर्णय कायान्वयन भए बागमती प्रदेशका नागरिकलाई ठूलो राहत मिल्नेछ । अर्कोतर्फ प्रदेश खारेजीको माग गर्नेहरुलाई पनि गतिलो जवाफ पनि यसले दिनेछ ।
प्रदेश अन्र्तरगत स्वास्थ्य मन्त्रालय हालै चितवनका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा ५० हजारबराबरको खर्च व्यहोर्ने गरि सम्झौता गरेको छ ।
प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र अस्पतालबीच सम्झौता गरिएसँगै प्रदेशभित्रका बिरामीले ती अस्पतालमा उपचार गर्दा रु ५० हजार थप छुट पाउने छन् । सहमति अनुसार संघीय सरकारले दिने रु एक लाख खर्च भएपछि बिरामीले थप रु। ५० हजार उपचार खर्च पाउने भएका हुन्। प्रदेश सरकारले गरेको सम्झौता अनुसार अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्युट, नेसनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटल रहेका छन्। यस्तै बकुलहर रत्ननगर अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको छ। प्रदेश सरकारले यसअघि नै प्रदेशका अन्य २४ अस्पतालसँग यससम्बन्धी सम्झौता गरिसकेको छ ।
सम्झौता गरेका अस्पतालमा प्रदेशअन्तर्गतका १३ अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर रहेका छन्। यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पतालमा पनि रु ५० हजारबराबरको क्यान्सर रोगको उपचार निःशुल्क पाइने सम्झौता भइसकेको छ।