
काठमाडौँ । नेपाली काँग्रेसको आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले भूकम्प प्रभावितका लागि सरकारले दिने भनेको राहत रकम एकमुष्ट रुपमा छिटो उपलब्ध गराउन समेत सरकारलाई आग्रह गरिएको बैठकपछि नेपाली काँग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बैठकमा नेपाली काँग्रेसको महासमिति बैठकको तयारी, देशको अर्थतन्त्रको अवस्था, भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण तथा देशको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि छलफल भएको थियो ।
सञ्चारकर्मीको एक जिज्ञासामा काँग्रेस प्रवक्ता डा महतले विभिन्न बहानामा अहिलेको राजनीतिक व्यवस्थाप्रति प्रश्न उठाउने काम भएकोबारे नेपाली कांग्रेस सचेत रहेको प्रतिक्रिया दिनुभयो ।
प्रवक्ता डा महतले नेपाली काँग्रेस लोकतान्त्रिक मूल्य, मान्यता तथा कानूनी शासनको संरक्षण गर्दै सुशासन, समृद्धि र विकासको लक्ष्य हासिल गर्न सकिन्छ भन्नेमा स्पष्ट रहेको बताउनुभयो ।