
सम्पादकीय
जनताले जनताकालागि जनताद्धारा शासन गरिने व्यवस्थाको नाम हो लोकतन्त्र । लोकतन्त्रमा व्यक्तिगत स्वतन्त्रतादेखि जनता सार्वभौम सम्पन्न नागरिकका रुपमा रहने व्यवस्था संविधानमा नै अपरिवर्तनीय धाराका रुपमा उल्लेख गरिएको छ । जनतालाई राजनीतिक दलहरुले आफ्नो पार्टीको घोषणपत्र अनुशार शासन सञ्चालन गर्ने व्यवस्था कायम छ ।
लोकतन्त्र अत्यन्त सुन्दर व्यवस्था हो । यसलाई राजनीतिक दल, कर्मचारी प्रशासन र देशका नागरिकले अन्तरआत्मदेखि नै यसको संरक्षण गर्ने हो भने देश र जनता समृद्ध र सुखी हुनेछन् । तर हाम्रो मुलुकका जनताले जसरी लडेर लोकतन्त्र स्थापना गरेका थिए त्यसको प्रतिफल भने प्राप्त गर्न सकेको देखिदैन । प्रतिफल प्राप्त गरेका छन् त केही राजनीतिक दलका नेता, तिनका नजिकका नातेदार र कर्मचारी प्रशानहरुले मात्रै हो । जसका कारण आज देश गरिबिको रेखामुनी छ, बेरोजगारीको संख्यामा दिनानुदिन बढिरहेको छ ।
लाखौँ युवाहरु खाडीको ५० डिग्री गर्मीमा आफ्ना परिवारलाई छाडेर काम गर्न बाध्य छन्, कतिको त लाश मात्रै आउने गरेको छ । स्वास्थ्य र शिक्षामा अझै गरिब नेपालीको पहुँच पुग्न सकेको छैन । यि तमाम अवस्था जनताले झेलिरहेको बेला नेताहरुको दैनिकी भने आलिशान रुपमा बितिरहेको छ । नेताहरु जनताका सरोकारका विषयमा भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा तल्लिन भएका छन् । यसको उदाहरण पछिल्लो घटनाक्रमले देखाएको छ । मुलुकका प्रमुख दल नेपाली कांग्रेस, एमाले र नेपाली जनताका लागि भन्दै १२ वर्षे जनयुद्ध लडेर शान्ति प्रक्रियामा आएको नेकपा माओवादी केन्द्रका नेताहरु धमाधम तस्करी र भ्रष्टाचारको काण्डमा मुछिएका समाचार सार्वजनिक भैरहेका छन् ।
नेपाली कांग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँड, माओवादीका कृष्णबहादुर महारा, पूर्व माओवादी हाल एमाले नेता टोपबहादुर रायमाझी, रामबहादुर थपा बादल ,पूर्व उपराष्ट्पतिको परिवार जो लामो समय राजनीतिमा रहेर देश र जनताका लागि लडेका भनिएका नेताहरुनै यो अवस्था पुग्नु नेपाल र नेपालीका लागि ठूलो बिडम्बना हो । जनताले कल्पना समेत गर्न नसक्ने विषयमा यसरी नेताहरुको संलग्नता देखिनुले यो देश भ्रष्टहरुले चलाइरहेको प्रष्ट हुन्छ । नेतासँगै कर्मचारीवर्ग, प्रहरी प्रशासनको चरित्र समेत उदांगो भएको छ । यसले के देखाउँछ भने छ्टिै यो अवस्थाको अन्त्य गर्न नसक्ने हो भने नेपाल धेरै पछि पर्ने छ । वैदेशिक ऋणबाट उठ्न नसक्ने अवस्थामा पुग्नेछ ।
देश सोमालियाको अवस्थामा पुग्ने चिन्ता समेत सुरु भएको छ । यसर्थ वर्तमान सरकारले जुन हिसाबले भ्रष्टाचार नियन्णका लागि कदम चालेको छ अब त्यसबाट पछि हट्ने छुट उसलाई छैन र हट्नु हुँदैन । निकै ढिला भएपनि राम्रो सुरुवात भएको छ । अब आम रुपमा कर्मचारीदेखि नागरिक समाजसम्मले सरकारलाई सहयोग गर्नेपर्दछ । कसैन कसैले काम गनुपर्ने थियो, ढिलै भएपनि माओवादीका अध्यक्षले थाल्नु भएको छ । यसमा उहालाई पुर्ण रुपमा साथ दिनुपर्दछ । तर उहाले पनि आफ्ना र अर्को भन्न थाल्नुभयो भने परिणाम आउन सक्दैन । यसलाई निश्कर्षमा पुर्याउन प्रधानमन्त्री कडा हुनै पर्दछ । नत्र यो सरकार र उहालाई पनि जनताले अब छुट दिन ेछैनन् । यसर्थ परिणाम देखाउने गरि काम गरौँ । यो अन्तिम मौका हो ।