
सम्पादकीय,पछिल्लो समय नेपाली समाजमा निकै चर्चाको विषय बनेको सहकारी काण्डले राष्ट्यि राजनीतिलाई पनि तताउन पुगेको छ । हजारौं सर्वसाधारणलाई बैंकहरुको भन्दा धेरै ब्याजदिने प्रलोभनमा पारेर जम्मा गरिएको रकम अपचलन गर्दै आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग भएपछि यसबारेका रहस्यहरु खुल्दै आएका छन् । सर्वसाधारणले जम्मा गरेको रकम आवश्यक क्षेत्रभन्दा अन्यत्र लगानी गर्नुपनि एक प्रकारको भ्रष्टाचार हो भन्ने मान्यता विपरित भैरहेका गतिविधिका कारण हजारौं सर्वसाधारणको रकम जोखिममा परेको छ ।
यसरी नागरिकको रकम खाएर भाग्ने क्रम बढिरहेको छ । यसका लागि धेरै सहकारीहरु जिम्मेवार छन् तर पनि यतिखेर मुख्य रुपमा भने राष्ट्यि स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछाने जोडिनु भएको छ । तत्कालिन अवस्थामा लामिछानेका व्यवसायिक साझेदार जिवि राई अध्यक्ष भएको सुर्यदर्शन सहकराीदेखि अन्य सहकारीले गैर कानुनी रुपमा सहकारीको रकम आफुले सञ्चालन गरेको टेलिभिजनदेखि घर जग्गामा लगानी गरेका रहेछन् । उक्त रकम डुबेका कारण राई यतिखेर फरार छन् । सोही अवस्थामा लामिछानेले पनि टेलिभिजनमा लगानी गर्नका लागि राई अध्यक्ष भएको सहकारीबाट विभिन्न समयमा गरेर करोडौं ऋण लिएको देखिएको छ । जसले गर्दा लामिछाने विवादमा तानिुनु भएको छ ।
कान्तिपुर दैनिकले उहाका विषयका बारम्बार समाचार प्रकाशित गर्दै आएको छ तर लामिछानेले भने त्यसको प्रतिकार गर्दै आउनु भएको छ । जुन कुराको छिनोफानो नभएपछि प्रतिपक्षी दल कांग्रेसले भने उक्त विषय संसदमा नै प्रवेश गराएका छ । कांग्रेसले संसदीय छानविन समिति बनाएर यसको निश्पक्ष छानविन गर्नुपर्नेमा माग गरेको छ । कांग्रेसले यसको माग गर्दै संसद चल्न दिएको छैन । कांग्रेसको यो अडानलाई लिएर सिंगो सत्ता पक्षले भने गृहमन्त्री लामिछानेको बचाउँ गरिरहेको छ ।
गत शुक्रबार कांग्रेसका तर्फबाट पार्टीका महामन्त्री तथा व्यवस्थापिका सांसद गगन थापाले रविले आफै बुझेर रकम लिएको भन्दै प्रमाण पेश गर्न तयार भएको अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिलाई खण्डन गर्दै गृहमन्त्रीले भने यदि प्रमाण दिन सक्नुभयो भने म राजनीति छाड्न तयार छु,तर सक्नु भएन भने गगन थापाले छाडन तयार हो त ? भन्ने प्रश्न गर्नुभयो । दुवै जना राजनीतिका खेलाडीबीचको यो लडाईले पनि समाजलाई तताएको छ । कांग्रेसको यो अडानलाई लिएर धेरै खाले टिका टिप्पणीहरु पनि आएका छन् । कतिपयले यसलाई सत्ताबाट बाहिरिएको झोकको रुपमा लिएका छन् ।
कांग्रेस सत्ताबाट बाहिरिनु र यो विषय आउनु सँगै जस्तै भएको छ । सत्तापक्ष जो सत्ता टिकाउनका लागि लामिछाने र उहाको पूर्व व्यवसायकि साभेदार राईका विषयमा बोल्न चाहिरहेको छैन जसले गर्दा यो विषय थप पेचिलो बनेको छ । दलहरुको सत्ता स्वार्थका कारण आम नेपाली जनताबाट निर्वाचित सार्वभौम संसद भने बन्धन बनिरहेको छ । अन्य कुरा र विषय जे भएपनि कांग्रेसले यस पटक उठाएका यि विषय जायज छन्,जुन हजारौं नागरिकसँग जोडिएको छ ।
अर्कोतर्फ लामिछाने यदि यस घटनाका दोषी छैनन् भने छानविनमा किन इच्छा राखेका छैनन् । त्यसैले यस विषयमा छिटो टु यसलाई छिटो भन्दा छिटो निश्पक्ष छानविन गरेर निश्कर्षमा पुर्याउनु सत्तापक्ष, गृहमन्त्री छामिछाने, कांग्रेस र हामी नागरिक सबैको हितमा हुनेछ । सम्बन्धि तहको चेत खुलोस् ।