
राजु थापा, नेपाली कांग्रेसका वरिष्ठ उपसभापति हुनुहुन्छ । पाँच दलले निर्वाचनमा लागि गठन गरेको लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन कमिटिका संयोजक समेत रहनु भएका थापाले पाँच दलीय गठबन्धनलाई जिल्लाको दुई निर्वाचन क्षेत्र र ४ प्रदेशमा जिताउन सक्नु सिंगो गठबन्धनको सफलता रहेको बताउनु भयो । नुवाकोट जिल्लामा रहेर लामो समय राजनीति गरेका थापाको सक्रियातासँगै लामो अनुभवका कारण पाँच दलीय गठबन्धनले अत्यन्त सौभाद्रताकासाथ आफ्नो यात्रा पार गरेको छ । कहि कतै एक पार्टीले अर्को पार्टीलाई अस्वीकार गरेको घटना बाहिर आएपनि समग्रमा भने पार्टी निर्देशन अनुसार नै नेता कार्यकर्ता परिचालन गरिएको र सोही आधारमा गठबन्धनले जित हासिल गरेको थापाको भनाई रहेको छ । नुवाकोट जिल्ला लोकतान्त्रिक बाम गठबन्धनको किल्ला भनेर निर्वाचित उम्मेदवारहरु जनताको घर दैलोमा पुगिरहेका बेला नुवाकोट पुकारसँग कुराकानी गर्दै थापाले निर्वाचित उम्मेदवारहरुले अबका दिनमा जनताको सुख दुःखको साथी बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रस्तुत छ थापासँग नुवाकोट पुकार साप्ताहिकका लागि शुकदेव दाहालले गर्नुभएको कुराकानीका सम्पादित अंशहरु ः
१ नुवाकोट जिल्लामा गठबन्धनका उम्मेदवारहरुले सानदार ढंगले विजय हासिल गरेका छन्, यहाँ लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन कमिटिको संयोजक भएको नाताले यो जितलाई कसरी लिनुभएको छ ?
बास्तमा भन्नुपर्दा केन्द्रीय निर्देशन अनुसार पाँच दलीय गठबन्धनलाई अगाडि बढाउनुपर्दा नेपाली कांग्रेससहित पाँच दलबीच जुन प्रकारको एकता र समझादारी थियो त्यसलाई हामीले कसिलो रुपमा कायम गर्न सफल भयौं । सबै दलका नेता कार्यकर्ता साथीहरु गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सक्रियतापूर्व लागि पर्नुभयो । हाम्रा युनिटहरु पनि सक्रिय भए, हामी गटबन्धनका नेताहरुपनि त्यहि अनुसार क्रियाशिल भयौं, अर्कोतर्फ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन अघि देखिनै घर घर जाउँ कांग्रेस जिताउँ अभियान मार्फत पार्टीलाई चलायमान बनाएको थियो । हामीले ८८ वटै वडामा प्रशिक्षण तथा गोष्टी गरेर पार्टीलाई थप मजबुत बनाएका थियो । जसको बामजुत गठबन्धनका आदरणीय नेताहरुले विजय प्राप्त गर्नुभएको हो ।
२ गठबन्धनका उम्मेदवारलाई जिताउन गठबन्धनभित्रका कतिपय नेता कार्यकर्ता इमान्दार भएनन् भन्ने पनि छ नि ?
यो आरोप चाहि बाहिर आएको छ । तर हाम्रा केही साथीहरुले उम्मेदवारी दिनुभयो । त्यसका आधारमा रुख चिन्ह्र पनि कायम भएर आएको थियो । तर हाम्रा उम्मेदवारहरुले केन्द्रीय समितिको सर्कुलर आउनासाथ पार्टी कार्यालयमा आएर गठबन्धनको भागबण्डा र मर्म अनुसार नै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । उहाहरुले ठाउँ ठाउँ भएको सभाहरुमा आफै उपस्थित भएर आफ्नो उम्मेदवारी छैन भनेर आफ्नो धारणा राख्नु भएको थियो । स्थानीय तहमा पनि यस्तो भएको थियो । तर पनि त्यसले केही अप्ठेरो पर्ने हो कि भन्ने लागेको थियो तर आम नेता कार्यकर्ताको इमान्दारिताका कारण गठबन्धनका उम्मेदवारहरुले जित्न सफल हुनुभयो ।
३ समानुपातिकमा नेपाली कांग्रेसले जति मत ल्याउनु पर्दथ्यो त्यो ल्याउन सकेन भन्ने छ नि ?
गठबन्धनको मोडालिटीमा चाहि साथीहरु अलमलिएको अवस्था पनि थियो । हामीले त्यसका लागि प्रशिक्षण पनि दिएका थियौं । त्यसको कारण पनि समानुपातिकमा त्यति ध्यान नपुगेको हो कि भन्ने चाहि हामीलाई पनि लागेको छ । तर समग्रमा नुवाकोट जिल्लामा अपेक्षित अनुसार नभएपनि सन्तोषजनक मत भने हामी सहित अन्य पार्टीहरुले पनि प्राप्त गर्नुभएको छ । यसमा हामी पुर्ण सन्तुष्ट नभएपनि यसलााई सामान्य रुपमा लिएका छौं ।
४ नेपालको राजनीतिमा एउटा इतिहास रचेको पार्टी र त्यसका नेता अर्जुननरसिंह केसी क्षेत्र नं २ बाट आफै उम्मेदवार हुँदै गर्दा पनि राष्ट्यि स्वतन्त्र पार्टीले दोस्रो स्थान सुरक्षित गर्न सफल भएको छ, यसलाई तपाईले कसरी लिनुभएको छ ?
कांग्रेसभन्दा पनि तपाईले राख्नु भएको प्रश्न सान्र्दभिक छ । २०४६ सालमा बहूदलीय व्यवस्था स्थापना पश्चात संसदीय व्यवस्थाले राज्यप्रतिको दायित्य, जनताकाबीचमा राज्यको उपस्थिति,राज्यले दिने सेवा सुविधा, नागरिकका मौलिक अधिकारहरु, राज्यबाट प्राप्त गर्नुपर्ने सम्पूर्ण अधिकारहरु प्रदान गर्न चुकेको हो कि भन्ने बहस भएकै हो । त्यसको परिणाम स्वरुप राष्ट्यि स्वतन्त्र पार्टीले मत ल्याउनु र प्रतिस्पर्धी दलको रुपमा स्थापित हुनुले अहिलेका मुल धारका दलहरुले जनताप्रति इमान्दार हुनु है भनेर जनताले घण्डी बजाएर चेतावनी स्वरुप सचेत गराएका हुन भन्ने लागेको छ । मुल कुरा ठुला र मुलु धारका दलहरुले सोच्नुपर्ने अवस्था भने आएको छ । दलहरुले सहज ढंगले सेवा दिन सकेको छैन । किसानलाई मल दिन सकेको छैन । चुनावका बेला गाउँ गाउँ जाँदा पनि जनताको एउटै प्रश्न थियो मल किन दिन सकेन ? सरकारले यसलाई जनतालाई यस्ता दुःख दिने काम बन्द गरेर जनतालाई सहज रुपमा खोजेको कुरा पुरा गर्नेतर्फ लाग्नुपर्दछ । अब राजनीतिक दलहरुले यो आक्रोशित जनमतलाई सम्मान गर्दै भ्रष्टाचार निर्मुल गराउँदै खस्कदै गएको अर्थतन्त्रलाई बलियो दिशातर्फ अग्रसर गराउनु जरुरी देखिन्छ ।
५ राष्ट्यि स्वतन्त्र पार्टीको उदयले जनता परिवर्तन खोजिरहेका छन् भन्ने सन्देश दिएको हो त ?
परिवर्तन त एउटा लहर हो । अहिले मुलुक जुन ढंगले अघि बढेको छ , त्यसप्रति आम युवाहरु सन्तुष्ट छैनन् भन्ने कुरा त स्वकाविक रुपमा आएको छ । युवाहरु रोजगार खोजिरहेका छन् । हाम्रो जस्तो सुन्दर देश छ, तर हामीले त्यसको सदुपयोग गर्न सकिरहेका छैनौं । त्यसप्रति जनआक्रोश बढ्ेको छ । अबका दिनमा राजनीतिक दलहरुले जनतालाई दैनिक सेवादेखि रोजगारी सिर्जना, अर्थतन्त्रको विकासको बाटोलाई अघि बढाउनु पर्दछ भन्ने आवाज चाहि पक्कै उठेको छ ।
६ पाँच दलीय गठबन्धन जसरी एकतावद्ध भएर निर्वाचनमा होमियो अब पनि साझा सहमतिकासाथ अघि बढ्छ भन्नेमा विश्वस्त हुन सकिन्छ ?
गठबन्धन दलहरुबीच जुन प्रकारले स्थानीय तहदेखि साझा सहमति भएको थियो र आजसम्म जारी छ । त्यो मुलुकको विकासका लागि, नागरिकको हक हितका लागि आवश्यक छ । एउटा राष्ट्यि परिचयपत्र लिन समेत महिनौं लाइनमा बस्नु पर्दछ । त्यस्ता धेरै कुराहरु छन् । त्यसलाई सहजताकासाथ अघि बढाउनका लागि पनि पाँच दलीय गठबन्धन अझै केही समय अघि बढ्नु जरुरी छ । गठबन्धनको एकता भनेको देश बनाउनका लागि भएकाले स्थायित्वका लागि पनि गठबन्धनको आवश्यकता छ ।
७ यो गठबन्धनले दिर्घकालिन रुपमा कांग्रेसलाई फाइदा हुँदैन भन्ने पनि छ नि ?
यो गठबन्धनको बारेमा तपाईले आफ्नो भावना र मर्म अनुसार व्याख्या गर्नुभएको हो । तर मुलुकको परिवर्तन चाँहि गठबन्धनका कारण बाट नै सम्भवन हुँदै आएको छ । २०४६ सालको जनआनदोलनमा पनि सर्वोच्च कमाण्डर गणेशमानसिंहको कमाण्डमा बाम गठबन्धनबाट नै आन्दोलनले उचाई लिएको हो । त्यसपछिका परिर्वतनका लागि पनि गठबन्धनको परिकल्पना गरियो र जनययुद्धमा होमिएको माओवादीलाई पनि स्वर्गीय गिरजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याएर देशमा गणतन्त्र स्थापना गराउन सफल हुनुभयो । त्यसपछि संविधान पनि सबैको साझा सहमतिमा बनेको हो । २०१५ सालमा पनि कांग्रेसलाई जनताले बहुमत दिए । २०४६ मा पनि बहुमत आएको हो । त्यो नेताहरुको कमीकमजोरीका कारण सफल भएन । त्यसपछि भने गठबन्धनको संस्कृतिबाट नै मुलुकको विकास भएको हुनाले यसलाई अन्यथा लिनु हुुँदैन भन्ने मलाई लाग्छ ।
८ अन्त्यमा, नेपाली कांग्रेस नुवाकोट आम नेता कार्यकर्तालाई तपाई के भन्न चाहानुहुन्छ ।
म सर्वप्रथम नुवाकोबासी दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद भन्न चाहान्छु । नुवाकोटबासीको आत्मदानबाट नेताहरु विजयी बन्नुभएको छ । उहाहरुको त्यो आत्मदानको सम्मान गर्दै शसक्त ढंगले जनताप्रति उत्तरदायी बन्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । निर्वाचन परिचालन कमिटिको संयोजक हुनुको नाताले नुवाकोट जिल्लाका नेताहरुले धन्यवाद दिनुभएको छ र म कांग्रेसको वरिष्ट उपसभपाति हुनुको नाताले जनताको काममा सँधै सर्मपित हुने वाचा पनि गर्दछु । नेताहरुलाई जनताको नासोलाई सम्मान गर्दै अघि बढ्नका लागि दुई संघीय सांसद र प्रदेश सांसदलाई नुवाकोटको विकासका सक्रिय भएर त्रिदेशीय मार्गको विस्तार र सुन्दर नुवाकोट निर्माणमा उहाहरुको योगदान रहने छ भन्ने विश्वासकासाथ आम नुवाकोटबासीलाई फेरि पनि धन्यवाद दिन चाहान्छु ।