
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नामबाट हालै समाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस् आएको छ । स्टाटस्मा उल्लेख गरिएअनुसार ,कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो ! थापाको यो भनाईपछि समाजिक सञ्जालमा अब विद्रोह गरौं हामी साथ दिन तयार छौं भन्ने टिप्पणी तथा प्रतिक्रियाहरु धेरै आएका छन् । ति मध्ये कतिपयले नेपाली कांग्रेसमा नै लडेर पार्टीलाई शुद्धिकरण गर्नुपर्ने सुझाव दिएका छन् । थापाले भनेजस्तो पार्टी नेतृत्वसँग उहाहरुको कस्तो सम्बन्ध छ त्यो उहाहरुले जान्ने कुरा हो ।
तर आम पार्टीमा उहाहरुप्रति जसरी नेता कार्यकर्ताले विश्वास गरेर महामन्त्री बनाएका थिए , त्यो अनुसार उहाहरले आफूलाई अघि बढाउन नसकेको कुरा उहाको वक्तव्यले स्पष्ट संकेत गरेको छ । नेपाली कांग्रेसको इतिहास लामो रहेको छ । २००३ सालदेखि राणा शासन अन्त्यका लागि कठोर संघर्ष गर्न तयार भएर सुरु भएको आन्दोलनको बलमा नै नेपाली जनता रैतीबाट नागरिकका रुपमा स्थापित भएका हुन । कांग्रेसका तत्कालिन नेताहरु वीपी कोइराला, गणेशमानसिंह, सुर्वण शम्शेर, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुको योगदानका कारण कांग्रेसले नेपाली राजनीतिलाई एउटा विचार र शिद्धान्तमा हिडाउन सफल भएका थिए । २०१७ सालमा फेरि कांग्रेसको शासन सत्ताका समयमा जनपक्षीय निर्णका कारण आफूभन्दा कांग्रेस बलियो हुने ठानेर तत्कालिन राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई कु गरेपछि फेरि तिनै कांग्रेसका नेताहरुले लडेर मुलुकमा बहुदल ल्याएका हुन । बहुदलीय व्यवस्थापछि नेपाली जनताको इच्छा, चाहानाहरु धेरै थिए, देशले एउटा समुन्नत आर्थिक रुपान्तरण गरोस् भन्ने चाहाना थियो,तर जुन ढंगले देश अघि बढ्नुपर्ने थियो त्यो अनुसार हुन सकेन ।
नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार आफ्नै पार्टीको किचलोका कारण तीन वर्षमा नै मध्यावघि निर्वाचनमा होमियो । जसका कारण नेपाली राजनीति अस्थिर बन्यो,त्यसलाई मौका पोछेर एकातर्फ माओवादी जनयुद्ध, अर्कोतर्फ तत्कालिन राजाको कु का कारण विग्रिएको नेपाली राजनीतिलाई कांग्रेसले नै सम्हालदै नेतृत्व लिएर संविधानसभामार्फत माओवादीलाई समेत शान्तिपूर्ण राजनीतिको मुल धारमा ल्याउन सफल भयो ।
जसको बलमा आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएका गणतन्त्रका लागि लडेका होनहार युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेल जस्ता युवाहरु आज कांग्रेसको नेतृत्वमा पुगेका छन् । यसको अर्थ के हो भने कांग्रेसले जस्तोसुकै कठोर अवस्थामा पनि नेतृत्व गरेर देश र जनतालाई सहि बाटोमा हिडाउन सफल छ भन्ने देखिन्छ । तर पछिल्लो समय नेपाली राजनीति किन यसरी दुर्गन्धित हुँदैछ भन्ने प्रश्न आम रुपमा तेर्सिएका छन् ।
प्रमुख दलहरु जसका नेताहरु समेत भ्रष्टाचारमा मुछिने, सत्ता स्वार्थका कारण देश र जनता भन्दा आफूलाई माथि ठान्ने प्रवितृका कारण विग्रिएको छ । त्यसमा कांग्रेस पनि त्यति बाटोमा देखिन्छ । पार्टी नेतृत्वले जुन ढंगले कांग्रेसलाई बलियो बनाउनुपर्ने हो त्यो देखिदैन । पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस आज किन कमजोर बन्दैछ यो उहाहरुले विश्लेषण गर्नुपर्ने बेला भएको छ । यतिखेर त कांग्रेस संसदको ठुलो दल छ तर पनि जनताको मन जित्न सकिरहेको छैन ।
नेतृत्वप्रति विश्वास देखिदैन । उपनिर्वाचनको परिणामपछि त झन कांग्रेस छाड्न खोज्नेहरुको लर्को लागेको छ । कांग्रेसका नेता गगन थापाको भनाई पनि त्यहि हो । तर उहालाई जसरी विद्रोह गरेर जान भनिएको त्यो स्वयंम उहा र नेपाली कांग्रेसका लागि पनि दुर्भाग्य हुनेछ । पार्टी विभाजन गर्ने र विद्रोह गर्ने कुरा जुन ढंगले उक्साइएको छ त्यसले कांग्रेसलाई नै कमजोर बनाउँने देखिन्छ । पार्टीमा महामन्त्री जस्तो महत्वपूर्ण पदमा रहेर कांग्रेसलाई सहि बाटोमा लाने प्रण गर्नुको साटोे केही गर्न सकिन भन्नु भनेको नेतृत्व क्षमता कमजोर भएको भन्ने सन्देश जनतामा जाने स्पष्टै छ ।
महामन्त्रीद्धयलाई एउटा वफादार देवरको रुपमा सामाजिक सञ्जालमा विवादमा तान्ने गरिएको छ , यसले पनि कांग्रेसलाई कमजोर बनाउने देखिन्छ । कांग्रेस जसरी यो अवस्थामा आइपुगेको त्यो गुटगत राजनीतिका कारण हो । नेतृत्वमा भएकालाई काम गर्न नदिने र नेतृत्वमा पुगेकाहरुले पनि पार्टीलाई एक ढिक्का बनाएर लैजान नसकेका कारण आजको अवस्था आएको हो ।
कांग्रेसँग नेताको भविष्य मात्रै जोडिएको छैन देश, जनता र संघीयताको भविष्य पनि जोडिएको छ । कांग्रेस कमजोर हुनु भनेको सिंगो लोकतन्त्र कमजोर हुनु हो, प्रेस स्वतन्त्रता कमजोर हुनु हो,नागरिकका अधिकार कमजोर हुनु हो । त्यसैले अब महामन्त्रीसहित सिंगो पार्टी एकतावद्ध भएर कांग्रेसलाई शुद्धिकरणको अभियानमा लेजानु जरुरी छ । अबको देश हाँकने जिम्मा युवाहरुको काधमा आउँदैछ, त्यसका लागि उहाहरुपनि परिपक्क हुनुपर्ने जरुरी छ । त्यसका लागि पार्टीको केन्द्रीय समितिबाट सुरुवात हुनुपर्दछ ।
सभापति देउवाले केन्द्रीय समितिलाई पूर्णता दिँदै विभागदेखि भातृ संस्थाहरुको पुर्णतासँगै पार्टीलाई चलायमान बनाउन सकेको खण्डमा कांग्रेसले अर्को निर्वाचनमा आफूलाई पुरानो अवस्थामा पुर्याउने छ । यसका लागि सबैजना तयार हुनुपर्दछ । विद्रो गरेर नयाँ पार्टी जन्माउँदैमा अब जनताले विश्वास गर्ने अवस्था छैन । कांग्रेसलाई नै सहि ढंगले मलजल गर्न सकेको खण्डमा मात्रै पार्टी बच्छ र लोकतन्त्र पनि बलियो हुन्छ ।