
शुकदेव दाहाल
सत्तारुढ दल नेकपा माओवादीको पाँच दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले पार्टीलाई जनस्तरसम्म पुर्याउनका लागि रुपमान्तरणको योजनासहित तीन महिने कार्ययोजना अघि सारिएको छ । आइतबार केन्द्रीय समितिको बैठकले पारित गरेको मुख्य एजेण्डामा भदौ १० देखि कात्तिकसम्म तीन महिने पार्टी रुपान्तरणको योजना अघि सारिएको छ । यसको मुख्य लक्ष्य पार्टीका नेता कर्तालाई गाउँ गाउँ पुर्याउने रहेको छ ।
केही समयअघि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले ,समुदायमा कांग्रेस, अभियान सञ्चालन गर्ने निर्णय गरेको केही समयपछि माओवादीले पनि त्यस्तै खाले कार्यक्रम लिएर जनतामा जाने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकमा पार्टी सहरमुखी भएको, सुकिला मुकिलाहरुको पञ्जामा पार्टी पुगेको, पार्टीमा तस्कर र माफियाहरुको बाहुल्यता बढ्न थालेको र सोझा र सिधा नेता कार्यकर्ताले कुनै अवसर नपाएको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना भएपछि अध्यक्ष दाहालको प्रस्ताव अनुसार नै पार्टीलाई हरेक घरसम्म पुर्याउने योजनाकासाथ केन्द्रीय कमिटिको बैठकले निर्णय गरेको छ । बैठकमा अध्यक्ष दाहालले पार्टीभित्र छलफल, बहस भएपनि त्यसले पार्टीभित्र सिंगो एकता कायम गरेरको मात्र नभई भावनात्मक रुपमा समेत एक भएर सबै नेता कार्यकर्ता गाउँ गाउँमा जनताको घरमा जाने निर्णय गरिएको बताउनु भएको थियो ।
दाहालले पार्टीका सबै नेता कार्यकर्तालाई कुनै पनि घर नछुटाई जनताको घरमा पुग्न उनीहरुका कुरा सुन्न, पार्टीको कुरा सुनाउनका र सरकारले हाल गरिरहेका कामको बारेमा जनतालाई जानकारी गराउन पनि निर्देशन दिनुभएको थियो । २०५१ सालमा विभिन्न माग राखि जनयुद्धमा होमिएको माओवादीले १३ वर्ष शसस्त्र जनयुद्ध गरेको थियो । सो क्रममा राज्य र माओवादीबाट गरी झण्डै १७ हजारमा मानिको ज्यान गएको थियो । त्यसपछि नेपाली कांग्रेसको सक्रियतामा २०६२ सालमा भारतमा १२ बुँदे शान्ति सम्झौता गर्दै माओवादी शान्ति प्रक्रियामा आएको थियो । सोही समयमा माओवादी र नेपाली कांग्रेसको नेतृत्वमा भएको जनआन्दोलन मार्फत मुलुकमा संघीयता स्थापना भएको थियो । माओवादी शान्ति प्रक्रियामा आएसँगै मुलुकमा संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।
गणतन्त्रपछि मुलुकमा संघीयता स्थापना भएको छ । सो अनुसार तीन तहको सरकार क्रियाशिल रहेको अवस्था छ । माओवादीसहित दलहरुले जनताकाबीच जे जस्ता एजेण्डा लिएर आएका थिए राजनीतिक रुपमा ति पूरा भएका छन् । तर आर्थिक रुपमा जनताको जीवनस्तरमा भने सुधार भएको छैन । जसका कारण पूराना दलहरुप्रति जनताको विश्वास घटिरहेको बेला माओवादीले आफूलाई सुधार गरेर जनतामा जाने र संघीयताका बाँकी काम समेत पूरा गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । समग्रमा माओवादीले गरेको निर्णयहरु सकारात्मक छन् ।
मुलुकको तेस्रो ूलो दलसँगै सरकारको नेतृत्वमा रहेको पार्टीको नाताले माओवादीका देश र जनताप्रति धेरै जिम्मेवारीहरु रहेका छन् । यतिखेर माओवादी पार्टी कमजोर हुनु भनेको संघीयता र लोकतन्त्र कमजोर हुनु हो । तसर्थ वास्तविक रुपमा जनताको प्रतिनिधि बन्न र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नतर्फ केन्द्रीय समितिले गरेको निर्ण अनुसार आफूलाई केन्द्रीत गराउन सफल होस् हार्दिक शुभकामना।