
शुकदेव दाहाल, साताको बहस
अमेरिकन सहयोग नियोग मिलेनियम च्यालेन्ज कमर्पोरेसन (एमसीसी) कार्यान्वयनका विषयमा नेपाल र एमसीसीले आआफ्नो ठाउँबाट प्रतिवद्धता जनाएका छन् । यसबीचमा देखिएका सबैखाले विचार र आलोचनालाई पनि सम्बोधन गर्ने र आश्वस्त पार्ने प्रयासकासाथ आयोजनालाई तोकिएको समयमा नै पूरा गर्ने प्रतिवद्धताकासाथ यसको दिनगन्ती सुरु भएको छ । दलहरुले प्रतिनिधिसभाबाट ब्याख्यात्मक घोषणासहित पारित गरेको विषयलाई पनि सहज रुपमा लिएको अमेरिकाले अब विना स्वार्थ आयोजना तोकिएको समयमा नै पूरा गर्ने प्रतिपद्धताकासाथ परियोजना अघि बढाएको छ । गत बुधबार राजधानीमा सेलिब्रेसन आयोजना गर्दै दुवै देशका तर्फबाट थप प्रतिवद्धता समेत व्यक्त भएको छ । निश्चयनै अन्य आयोजना भन्दा यो केही फरक छ । यसमा अमेरिका आफैले तयसको निगरानी गर्ने हुनाले यसको कार्यान्वयन थप सहज रुपमा अघि बढ्ने छ ।
राजधानीको पाँचतारे होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनामार्फत नेपालको विकासको ढोका खुल्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाले परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने भन्दै प्रसारणलाइनबाट गुणस्तरीय ऊर्जा उपलब्ध गराउन सम्भव हुने उल्लेख गर्नुभयो । नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै उनले यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा गरिएको समेत पनि बताउनुभयो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले एससीसी परियाजना नेपालका लागि महत्वपूर्ण रहेकोले यसलाई तोकिएको समयमा नै सम्पन्न गरेर सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनुभयो । उहाले एमसीसीको बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले समेत यो नेपालका लागि महत्वपूर्ण परियोजना रहेको बताउनुभयो । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत सीइओ एलिस पिटर्सन अलब्राइटले यसबीचमा आफूले सरोकारवाला सबैसँग भेट र छलफल गरेको र त्यसबाट सबैको बलियो प्रतिवद्धता प्राप्त गरेको उल्लेख गरिन ।
नेपालले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी भएको भन्दै उनले यसबाट २ करोड २० नेपाली जनता लाभान्वित हुने समेत बताइन् । परियोजना ७५ वर्षको सम्बन्धको कोशढुंगा भएको उनको दाबी छ । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेपालको समृद्धिको आफ्नै किसिमको यात्रामा सहयोग गर्नु अमेरिकाका लागि खुसीको कुरा भएको बताउनुभयो । कार्यक्रममा परराष्ट् मन्त्री एनपी साउद,भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्यालासहितका सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो । २०२८ सम्म सम्पन्न गर्ने उक्त परियोजनाले नेपालको जलविद्युत क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास समेत लिइएको छ । आयोजना निर्माणसँगै १० हजार नागरिकले रोजगारी पाउने, कम्तिमा १ सय ३० किलोमिटर सडकको दिगो मर्मत सम्भाव हुने, ६६ प्रतिशत नेपाली घरधुरी तथा व्यवसायलाई विद्यूतीय सेवामा भरपर्दो पहुँच उपलब्ध हुने लगायतका फाइदा प्राप्त हुने विश्वास समेत लिइएको छ ।
यस्तै उक्त परियोजना अनुसार तीन ठूला सब स्टेशन रहने छ भने ४०० केभी प्रसारण लाइनको विस्तार हुनेछ । यसबाट दुई करोड ३० लाख नेपाली लाभान्वित हुने विश्वास गरिएको थियो । जसको अझ बढि प्रत्यक्ष फाइदा नुवाकोट जिल्लाका नागरिकहरुले पनि लिन सक्नेछन् । शवस्टेशनदेखि त्यसलाई लैजाने तारसहतिको व्यवस्थापनका लागि नुवाकोटका विभिन्न पालिकाका नागरिकहरुलाई मुआब्जासहितको जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना जारी भएर काम समेत अघि बढिसकेको छ । नुवाकोटका केही युवाहरुले रोजगारी प्राप्त गरिसकेका छन् । शब स्टेश नबनेसँगै त्यसले रातमाटे क्षेत्रको विकासलार्य थप सहयोग पुग्ने देखिन्छ । जसमा करिब एकसय घरदुरीले प्रत्यक्ष रुपमा फाइदा पाउनेछन् भने अप्रत्यक्ष रुपममा सिंगो नुवाकोटले पनि फाइदा लिन सक्नेछ । जसमा रोजगारी, बाटोघाटो जोडिएका छन् । बजारमा भनिएको जस्तो अमेरिकाले यसलाई आफ्नो स्वार्थभन्दा पनि नेपाल र नेपालीको हितका लागि यो परियोजनालाई अघि बढाएको पटक पटक दोहोर्याउँदै आएको छ । यसको सफलतासँगै अन्य विकास निर्माणदेखि अमेरिकासँगको मित्रता समेत जोडिएको हुनाले अब यसलाई सहि रुपमा तोकिएको समयमा नै पूरा गर्नेतर्फ सबैको ध्यान पुगोस् ।