
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणका कारणनिर्देश १० जना नेपाली विद्यार्थीहरुले ज्यान गुमाउनु परेको छ । उच्च शिक्षा अध्ययनका लागि इजरायल पुगेका नेपालीहरु जो आताती आक्रमणको सिकार बन्न पुगे । सुनौलो भविष्यको कल्पना गरेर कृषि सम्बन्धि अध्ययनका लागि त्यहाँ पुगेका नेपालीहरुको यो दुःखद निधनले उनीहरुका परिवामाथि परेको यो पिडालाई शब्दमा उल्लेख गर्न सकिने अवस्था छैन । यो सँगै सिंगो मुलुकलाई नै गहिरो चोट परेको छ । सरकारले मृत्यु भएका विद्यार्थीहरुको सम्मानमा मंगलबार हिजो शोक विदा दिएको छ भने प्रति परिवार राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन ९६ अक्टोबरको भोलिपल्ट शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो ।
इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् । जसमा १० जना नेपालीको मृत्यु हुन पुग्यो । दुतावासबाट सार्वजनिक भएको विवरण अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ । गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउनका लागि सरकारले आफ्नो तर्फबाट पहल थालिसकेको छ । अब परिवारका लागि श्वास नभए पछि लाशको मात्रै अपेक्षा हुन्छ । सरकारले यसमा कुनै कन्जुस्याँई नगरीकन छिटो भन्दा छिटो शव ल्याएर परिवारको जिम्मा लगाउने वातावरण तयार गरोस् । यो दुःखद घडिमा हामी ति निर्दोश विद्यार्थीहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहान्छौ. । साथै दुःखको यस घडिमा शोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनाकासाथ हार्दिक समवेशना प्रकट गर्दछौं ।