
केही दिन ढिलो गरि सुरु भएको यस वर्षको मनसुनी प्रभाव सुरुमा नै परिसकेको छ । पछिल्लो तथ्याड.्कलाई हेर्दा पनि देशभरबाट बाढीपहिरोमा परेर करिब ७० जनाको ज्यान गइसकेको छ । यस्तै पशुधन तथा भौतिक सम्पत्ति नोक्सानीको त कुनै लेखा जोखा नै छैन । वर्षाको सुरुवाती चरणमै यति ठुलो क्षति हुनु हाम्रा लागि अत्यन्त दुःखद पक्ष हो । यो क्रम अबको दुई महिना निरन्तर चलिरहने हुनाले हामीले धेरै नै सतर्कता अपनाउनु आवश्यक देखिन्छ । मनसुन हाम्रा लागि आवश्यक कुरा हो । हाम्रो जस्तो कृषि प्रधान देश त्यसमा पनि धेरै आकाशे पानीको भरका खेतीपाती गर्नुपर्ने अवस्था छ । यसकारण हामीलाई मनसुन अति आवश्यक छ । तर यसको प्रभावका विषयमा पनि हामी उत्तिकै चनाखो हुनुपर्दछ । मुख्य रुपमा त सरकारले सम्भावित बाढी पहिरोको जोखिमयुक्त बस्तीहरुका विषयमा ध्यान दिनुपर्दछ ।
त्यस्ता स्थानहरुको बस्ती बर्षातका समयमा मात्रै हेर्ने होइन स्थानान्तरण नै गर्नु पर्दछ । नभएपनि सतर्कता अपनाउन सक्नुपर्दछ । अर्कोतर्फ हामी नागरिकले पनि यस्ता जोखिमयुक्त स्थानहरुबाट बसाई सर्ने व्यवस्था मिलाउनु पर्दछ । सहज र सजिलो छ भनेर त्यस्ता स्थानहरुमा बस्ती बसाल्ने, ठुला ठुला घर बनाउने काम बन्द गर्नुपर्दछ । गत वर्ष बाढीका कारण सिन्धुपाल्चोको मेलम्ची बजार क्षेत्र तहस नहस भएको थियो । त्यो भन्दा अगाडिको कुरा गर्ने हो भने २०५० सालमा आएको बाढीले शहर बजार,बस्तीयोग्य, जमिन, खेतीयोग्य क्षेत्रहरुहरुलाई ध्वस्त बनाएको थियो । २०७२ को भुकम्पपछि हाम्रा धेरै जमिनहरु भस्किएका छन्, चर्किएका पनि छन् ।, त्यस्ता जमिनहरु यो बर्षातको समयमा पैरोका रुपमा खस्ने गर्दछन् । त्यसतर्फ हामी नागरिक आफै पनि सचेत हुनुपर्दछ । अर्को तर्फ राजधानी काठमाडौं र अन्य सहरी क्षेत्रहरुको खोला नाला वरिपरी मिचेर बस्ती विस्तार हुँदै गएका छन् । यसले झन समस्या ल्याएको छ ।
खोला साँघुरो बनाउने अनि बस्ती विकास गर्दा वर्षाको पानीले सहज निकास नपाउँदा नदीनाला किनारका बस्तीसँगै पानीको बहाव कतिपय स्थानमा सहर पसेर आतेस बनाएको अवस्था छ । यसले सिंगो शहरलाई नै जोखिममा पुर्याएको छ । कतिपय अवस्थामा सुरक्षा निकायले बाढीबाट ठुलो क्षति हुन नदिन पूर्वतयारीसहित उच्च सतर्कता अपनाएकाले हामीले धेरै ठुलो क्षति व्यहोर्नु परेको छैन । तर उच्च जोखिम भने सँधै कायम रहने गरेको छ । बर्सेनी उही समस्या दोहोरिदै आएको छ । मुख्य रुपमा यस्ता स्थानहरुमा सुकुम्बासी बस्ने गर्दछन् भने कतिपय त शहरको जग्गाका लागि पनि सुकुम्बासी बन्ने गरेका समाचारहरु आउने गरेका छन् । यो त शहरको कुरा गाउँघर तिर पनि बाढी र पहिलोको जोखित उत्तिकै छ ।
यसतर्फ पनि सरकारले ध्यान दिएर त्यस्ता स्थानहरुको खोजी गर्न सक्नुपर्दछ । कतिपय ठुला विपत हामीले चाहेर पनि रोक्न सक्दैनौ र त्यो भगवान भरोसामा छाड्नु पर्ने हुन्छ । तर हामी केही सचेत हुन सक्यौं भने पक्कै पनि त्यसबाट पनि कम क्षति हुन पुग्दछ । अब आगामी दिनमा सरकारले खोलानालाको छेउँछाउका बस्ती हटाउँदै बस्ती स्थानान्तरण गर्नुपर्दछ र रोजेको ठाउँभन्दा पनि सरकारले उपयुक्त स्थानमा बसोबास गराउनेतर्फ ध्यान दिनुपर्दछ । अन्यथा बर्षाका बेला बाढी पहिरो र डुबानको त्रास सँधै उस्तै रहिरहन्छ ।