काठमाडौं — ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार थुनछेक बहसपछि यस्तो आदेश जारी गरेको हो।
प्रहरीले अधिकारीलाई बिहान अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेशपछि उनलाई काठमाडौंको सुन्धारास्थित जगन्नाथ देवल कारागारमा पठाइएको अदालत स्रोतले जनाएको छ।
अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीका अनुसार नख्खु कारागारमा महिला बन्दीका लागि आवश्यक व्यवस्था उपलब्ध नभएकाले अधिकारीलाई जगन्नाथ देवल कारागारमा राख्ने निर्णय गरिएको हो।
कुमार चिमोरियाको उजुरीका आधारमा पक्राउ परेकी अधिकारीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग दर्ता गरिएको छ। उक्त मुद्दामा अधिकारीसहित १० जनालाई प्रतिवादी बनाइएको छ।
यसअघि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड कर्नर नोटिस जारी भएपछि अधिकारीलाई थाइल्याण्डबाट नियन्त्रणमा लिएर नेपाल ल्याइएको थियो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्