
श्रीराम श्रेष्ठ
सन्दर्भ: ४१ औ वि. पि. स्मृति दिवस
नेपाली साहित्य जगतमा चर्चित एवम् सफल व्यक्तित्व महामानव विश्वेश्वरप्रसाद कोइराला साहित्यका एक चम्किला ध्रुर्व तारा हुन् । विशेषतः आख्यान विधामा कलम नचाएका कोइरालाले मनोविज्ञान अन्तर्गत पनि यौन मनोविज्ञानलाई आधार मानेर नेपाली साहित्यमा नयाँ आयम थपे । उनको कार्यको जति नै चर्चा गरे पनि अपूरो हुन्छ, ४१ औं स्मृति दिवसको सन्दर्भमा उहाँको केही अंशको चर्चा गर्ने प्रयास गरिएको छ ।
महामानव विश्वेश्वरप्रसाद कोइराला ( वि.स. १९७१ – २०३९ ) नेपाली साहित्यमा कथा विधामा मनोविज्ञानलाई सर्वप्रथम प्रवेश गराउने अगुवा प्रयोक्ता हुन् ।
बि.स. १९७१ भाद्र २४ गते तदनुसार सन् १९४१ सेप्टेम्बर ८ का दिन भारतको बनारसमा बुबा कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट जन्मेका हुन् – विश्वेश्वरप्रसाद कोइराला ।
कृष्णप्रसाद कोइरालाकी प्रथम पत्नीको मृत्यु प्रसवकालमा भएको थियो । त्यही घटना विश्वेश्वरको आमा दिव्या कोइरालामा पनि घट्न पुग्दा शल्य चिकित्सा गर्नु परेको थियो । शल्यक्रिया पद्धतिद्वारा विश्वेश्वर जन्मेका थिए । यसबारे विश्वेश्वरले ‘आफ्नो कथा’ मा यसरी लेखेका छन्– ‘‘आमाको प्रसव अत्यन्त जटिल हुन गयो र प्राण रक्षाको लागि जनकप्रसाद दाइको ढिपीले बडा आमाले तुरून्त डाक्टरी सेवा प्राप्त गर्ने अनुमति दिनुभयो । तत्काल एउटी सिपालु डाक्टरनी नआइपुगेर शल्य चिकित्साको मद्दतले त्यहाँ उद्दार कार्य नगरेको भए मेैले त प्रकाश नै देख्न पाउने थिइँन, आमा पनि जीवित रहनु हुने नै थिएन् । मैले संसारमा प्रवेश गर्दा परिवारको एउटा परम्परालाई तोडें, प्रसव कोष्ठमा आधुनिक चिकित्सा विज्ञानको प्रकरणलाई पु¥याएँ’’ शल्यक्रियाबाट जन्मेको हुनाले विद्रोही स्वभाव उहाँमा देखा परेको हो कि भन्ने हल्ला राजनैतिक वृत्तमा चलिरहने कुरा हो । काशीका आदिदेव महादेवको प्रसाद हो भनेर विश्वेश्वरका ठूलो बाबुले यिनको नाम विश्वेश्वरप्रसाद कोइराला राखिदिए । यही नामबाट परचित भएको व्यक्ति संसार भरी नै प्रख्यात हुन पुगे । हुन त उनको न्वारनको नाम चूडामणि थियो । विश्वेश्वरलाई कसैले सानुबाबु र कसैले सानुदाजु भनेर पनि बोलाउथेँ ।
तत्कालीन राणा शासकहरूद्वारा आफ्ना पिताको सर्वस्वहरणसहित देश निकाला गरिएपछि पुख्र्यौली जन्मथलो मोरङ, अर्थात् नेपाल छाडी विश्वेश्वरका परिवार बनारस भारत बसाइँ सरेका हुन् । विश्वेश्वरले बनारसबाट नै औपचारिक शिक्षाको थालनी गरेका हुन भने हरिश्चन्द्र हाइस्कूबाट एस.एल.सी., बनारस हिन्दु विश्वविद्यालयबाट बि.सं.१९९१ मा वि.ए. उत्तीर्ण, कलकत्ता विश्वविद्यालयबाट वि.सं. १९९४ मा वि.एल. उत्तीर्ण गरेका थिए । त्यस्तै, उनले अर्थशास्त्रमा एम.ए.सम्मको अपूर्ण अध्यय गरेका थिए । उनी वि.स.१९९४ तिर सुशीला दाहालसँग वैवाहिक सम्बन्धमा बाँधिएका थिए भने जसबाट तीन छोरा र एक छोरीको जन्म भएको थियो ।
साहित्यिक तथा राजनैतिक व्यक्तित्व भएका महामानव विश्वेश्वरप्रसाद कोइरालाका बारेमा सामान्य चर्चा गर्न त्यत्तिकै मात्रामा अध्ययन गर्नुपर्ने हुन्छ । उनलाई साहित्य र राजनीति दुबै पक्षमध्ये एक पक्षीय रूपमा मात्र अलग्याउन खोजिएमा बुझ्नलाई झन् गाह्रो पर्छ । त्यसैले विश्वेश्वरप्रसाद कोइराला भन्छन्–‘‘वास्तवमा म आफूलाई साहित्यिक सम्झन्नँ । मेरो क्षेत्र त राजनीति हो, राजनीतिमा म यौटा अन्तप्र्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरित । म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी । कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ ।”
विश्वेश्वरप्रसाद कोइरालाले साहित्य र राजनीतिक दुबै तिरबाट मानवीय मूल्य तथा मान्यताप्रतिको आस्थालाई विश्वास गर्दै वकालत गरिरहने व्यक्तिको रूपमा विश्व मै परिचित भइसकेका छन् । अराजकवादी साहित्यकार र प्रजातन्त्रवादी राजनीतिज्ञ भएर उठेको व्यक्तित्वको जति चर्चा गरे पनि, जति अध्ययन गरे पनि कहिले पनि टुङ्गो नलाग्ने भईसकेको छ । खोतल्नेले खोतलिरहेका छन्, दुवै पक्षको आ–आफ्नो वजन घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । राजनीतिमा बन्दुक समात्न समेत पछि नपर्ने व्यक्तिले साहित्यमा कलम समाएर आफूलाई सजिलैसँग प्रस्तुत गरे । राजनीतिमा विश्वेश्वर काँडा हुन् भने साहित्यमा गुलाफको फूल हुन् । विशेष रूपले भन्ने हो भने माक्र्सको भौतिकवादी दर्शन र फ्रायडको मनोवैज्ञानिक चिन्तनको आधारमा केन्द्रित रहेर विश्वेश्वरले कथा र उपन्यास लेखे । आफ्नो व्यक्तिगत जीवनलाई विश्वेश्वरले दुई पाटाबाट अध्ययन गर्दथे । पहिलो पाटो–शरीरभित्र सुषुप्त बीजको रूपमा रहेको आत्मा र मन । दोस्रो पाटो हो – स्थूल रूपमा इन्द्रियले देख्न सकिने मन र आत्माको खोल रूपी शरीर ।
विश्वेश्वर सानै उमेरदेखि अध्ययनशील व्यक्ति थिए, सानै उमेरदेखि भारतीय लेखकहरूका कथा र उपन्यासहरू खोजी खोजी अध्ययन गर्दथे । उनका बुवाले नेपाली भाषामा प्रकाशित साहित्यिक पत्रपत्रिकाहरू चन्द्रशमशेरमार्फत आफ्नो घरमा ल्याउँथे । त्यही पत्रपत्रिकाहरू खुब उत्सुकतापूर्वक अध्ययन गर्दथे । बाल्यकाल भारतमा बिताएका हुँदा उनको लेखनको थालनी भारतीय प्रवासबाट भएको देखिन्छ । सर्वप्रथम उनको लेखन हिन्दीभाषाबाट नै भएको हो ।
उनको ‘वहाँ’ शीर्षकमा हिन्दी भाषामा १९८७ मा ‘हंस’ पत्रिकामा लघु कथा प्रकाशित भएको थियो । यो नै विश्वेश्वरको पहिलो रचना हो । त्यसपछि वि.सं.१९९२ मा शारदा पत्रिकामा ‘चन्द्रवदन’ कथा प्रकाशन भएपछि नेपाली भाषामा कथा लेखन प्रारम्भ मनोवैज्ञानिक देखिन्छ । त्यस्तै वि.सं.१९९५ मा सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित कथाकुसुम नामक सङ्ग्रहमा विश्वेश्वरका तीनवटा कथाहरू समावेश छन् । भारत बसाइको क्रममा भारतीय साहित्यकारहरू शान्तिप्रिया द्विवेदी, प्रेमचन्द, मैथिलीशरण, रामकृष्ण दास, जयशङ्कर आदिको सङ्गतले नै यिनी साहित्य क्षेत्रमा होमिएका हुन् । त्यस्तै, रसियन साहित्यकारहरू टल्सटाय, एन्टन, चेखव, मेक्सिम गोर्की तथा पाश्चात्य साहित्यकारहरू सिग्मण्ड फ्रायड, अल्बर्टकामूजस्ताका साहित्य लेखनको प्रभावबाट विश्वेश्वर प्रभावित थिए । उनी साहित्यमा लाग्नुको मुख्य कारण आफ्नो विचारलाई अन्ततोगत्वा टिकाई राख्नु हो भने राजनीतिमा लाग्नुको कारण राजनैतिक उतारचढावका कारण विचार टिकाउनु हो ।
विश्वेश्वरले भाषा र साहित्यका क्षेत्रमा विविध विधामा सशक्त रूपमा कलम चलाएका थिए । ती हुन् – कथा, कविता, उपन्यास,आत्माकथा र निबन्ध ।
उनका हालसम्मका कृतिहरू क्रमागत रूपमा यसरी हेर्न सकिन्छ:
१, दोषी चश्मा (कथासङ्ग्ह–२००६)
२, नरेन्द्र दाई (उपन्यास–२०२५)
३, तीन घुम्ती (उपन्यास–२०२६)
४, सुम्निमा (उपन्यास–२०२७)
५, मोदि आइन (उपन्यास–२०३७)
६, श्वेतभैरवी ( कथासङ्ग्ह–२०३९)
७, आफ्नो कथा (आत्मकथा–२०४०)
८, हिटलर र यहुदी (उपन्यास–२०४२)
९, बुवा, आमा र छोरा (उपन्यास–२०४५)
१०, विश्वेश्वरका कविता (२०४९)
११, जेलजर्नल (२०५४)
१२, आत्मावृत्तान्त (२०५५)
विश्वेश्वर विशेषत कथाकार नै हुन् । वि.सं. १९९२ मा शारदा पत्रिकामा चन्द्रवदन शीर्षकको कथा छपाएर आधुनिक कथाको मनोवैज्ञानिक धाराका पहिलो कथाकार बन्न सफल भए । प्रकाशित भएका कथासङ्ग्रहतर्फ दोषी चश्मामा १६ वटा र श्वेत भैरवीमा ४ वटा कथाहरू समावेश छन् । उनले आफ्नो कथामा कथाको बारेमा “जीवनका घटनाको अटूट प्रवाहबाट अजुँलीमा झिकेको जस्तो सानो प्रसङ्गयूक्त घटनाको वर्ण हो – कथा, सानो अर्थ दिइएको । कथाको ओर र छोर हुँदैन, किन भने त्यो त एउटा जीवनको बृहत अनन्तक्रमबाट टिपेको सानो टुक्रा हो ।” भनी भनेका छन् ।
आधुनिक नेपाली कथामा महान कथाकार दुईमध्ये एक हुन्– विश्वेश्वरप्रसाद कोइराला । गुरूप्रसाद मैनालीले सामाजिक कथाहरू लेखे भने विश्वेश्वरले मनोवैज्ञानिक कथाहरू लेखे । मानिसको मनोवैज्ञानिकका विविध पक्षलाई स्त्री–पुरूष फरक लिङ्गीबीच परस्परमा हुने यौनिकतालाई नै विषयवस्तु बनाएर कथा लेखे । ती कथाहरूमध्ये कर्णेलको घोडा चर्चा योग्य नै रहेको छ । कथाको पात्रमध्ये कर्णेल प्रमुख हुन् । उनी सामन्त हुन्छ । ४५ वर्षीय कर्णेल र १९ वर्षीय कर्णेल्नीको बैवाहिक सम्बन्ध जोडिन्छ । कर्णेल्नीलाई आफ्नो श्रीमानबाट यौन सन्तुष्टि प्राप्त मिल्दैन । कर्णेलले आफ्नो श्रीमतीलाई खुसी पार्न सबै भौतिक सुविधा दिन्छ । जवानी कर्णेल्नी उदासिन हुन्छे । विवाह पूर्व गाउँकै एक युवकले विवाहको प्रस्ताव राखेको झलझली सम्झन्छे । यौनका कारण लोग्ने र स्वास्नीबीच द्धन्द भएको देखिन्छ । कर्णेल्नी आफ्नो मनमा गुम्सेका कुरा ब्यक्त गर्न सक्दिनन् । एक दिन कर्णेलले आफ्नी श्रीमतीलाई खुसी पार्न तवेलातिर लग्छन् । तवेलामा जवान सेतो वलवान घोडा देखिन्छ, त्यसैप्रति कर्णेल्नी आकर्षित हुन्छे । घोडालाई एक जवान पुरूषको रूपमा कर्णेल्नीले लिन्छे । आफ्नो श्रीमती घोडाप्रतिको आकर्षणले गर्दा कर्णेल रिसले चुर भई पेस्तोलले हानी घोडालाई मारिदिन्छ । कर्णेल्नी रोइकराई मुर्छित बनी भूइँमा ढल्छे । यसरी दुःखान्तमा कथा टुङ्गिएको छ ।
‘फेरि सुन्दरीजल’ , राष्ट्रिय मेलमिलापको नीति लिएर वि.स.२०३३ साल पौष १६ गते कोइराला भारतबाट नेपाल फर्कने क्रममा सुन्दरीजल बन्दीगृहमा रहँदा लेखिएको पुस्तक । यो पुस्तक एक दैनिकी, डायरी वा संस्मरण हो । बन्दीको बेला वि.पि.ले अति कष्टकर रूपमा जीवन व्यतित गर्नु परेको कुरा लेखेका छन् । एउटा लेखकलाई बाहिरी संसारबाट सम्पर्क बिच्छेद गरी लेखन र पढ्ने सामाग्रीहरूसमेत उपलब्ध नहुँदा कति पीडा बोध होला ? जेलमा उपलब्ध गोरखापत्र र राइजिङ्ग नेपाल पत्रिकाको खाली ठाउँमा उनले आफ्नो दैनिकी लेख्नु प-यो । विना कारण काल कोठरीमा बन्दी बनाइएको र कुनै न्यायिक सहयोगको लागि सम्पर्क गर्नसमेत नदिएको खुलासा विपिले गरेका छन् । मेलमिलापको नीति लिएर जुन साहसिक काम गरे तसर्थ विपीलाई राजनेताको रूपमा लिइन्छ । त्यसताकका उनका विचार सान्दर्भिक रह्यो–‘‘प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा दुबै जिम्मेवारी नेपालीले लिनुपरेको छ । यदि हामीले एउटै जिम्मेवारी मागको कुरा गर्यौं भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेका हुनेछौ र यदि हामीले प्रजातन्त्र प्राप्ति मात्र जोड दियौ भने राष्ट्रिय सङ्कटको निवारणमा हाम्रो योगदान रहदैन । राष्ट्रिय सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सुत्रमा बाधिनु पर्छ । राष्ट्र रहेन भने हामी रहन्नौ भन्ने भावनाले, प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ ।’’
कोइरालको जेलजीवन नेपाली साहित्यका लागि उवर समय बन्यो । किनभने उनले जेलमा बसेर अधिकांश कथा र उपन्यास सिर्जना गरे । जुन नेपाली साहित्यका लागि अनुकरणीय बन्यो । २०१७ भन्दा अघि राजनीतिमा सक्रिय जीवन बिताएका कारण साहित्यलाइ सहायक बनाउन बाध्य थिए । तर सुन्दरीजल जेलमा रहँदा उनको साहित्य वा सिर्जना कलाहरु निरन्तर फुरे ।
विपीले वि.स.२०२२ सालतिर आफ्नै जीवनमा आधारित भएर लेखेका ‘आफ्नै कथा’ २०४० सालतिर पुस्तकको रूपमा प्रकाशन भयो । गद्य साहित्यिक रचना आफ्नो कथा नेपाली बाङ्मयमा प्रकाशित कथामध्ये उत्कृष्ट ग्रन्थको रूपमा लिइन्छ । प्रस्तुत कथामा उनको बाल्यकालदेखि किशोर अवस्थासम्ममा घटेको घटनाको इतिवृतान्त झल्काएको छ । विशेषत यिनले आफ्नो कथामा कोइराला बंशदेखि राणाकालीन कालक्रमको ब्याख्या गरेका छन् । ‘आफ्नो कथा’ कथाकार विपीको आत्मा कथा मात्रै होइन, नेपाली राजनीति एवम् सामाजिक जागरणको बिकुल फुक्ने कार्य भएको छ । समाज परिवर्तनका लागि उल्लेखनीय भूमिका खेल्ने मानुषहरूका लागि आत्मा वृतान्त लेख्नका लागि यो पुस्तक सहयोग सिद्ध हुन जान्छ । आफ्नो कथा विपी कोइरालाको सत्य घटनामा आधारित सामाजिक उपन्यास हो ।
उनको बाबु, आमा र छोरा उपन्यास नेपाली समाजमा अपाच्य घटनामा केन्द्रित रहेको छ , यस उपन्यासमा छोराकी प्रेमिकासँग बाबुले विवाह गरेर छोरा जन्मेको छ । भारतमा पढ्न बस्दा छोरासँग सहवास चल्दै थियो अचानक केटीको घरमा आमा सिकिस्त बिरामी छन् भनी घरमा बोलाएर एक अधवैंसे मानिससँग विवाह गरिदिन्छन् । ती केटीलाई थाहा हँदैन । त्यो उसले विवाह गरेको मानिस आफ्नै प्रेमीकाको बाबु हो भन्ने । भारतमै गर्भिनी भएकी केटीले घरमा आएर विवाह गर्छेै र छोारा जन्माउछे । पछि केटो घरमा आउँदा आमाको रुपमा आफ्नी प्रेमीलाई पाउँछ र आफ्नो रगतको रुपमा छोरो देख्छ । अब त्यो छोरा बाबुको की छोराको ?
उनको हिटलर र यहुदी उपन्यास उच्च कोटीमा दरिन पुगेको छ । यौनमनोविश्लेषणवादी उपन्यासमा म पात्रले क्यान्सर उपचारका क्रममा विदेश जादाँ जहाजको यात्रा क्रममा अनुभुति गरेका कुराहरूलाई उपन्यासमा लिपीवद्ध गरिएको छ । नेपालदेखि भारतको वम्वई, लण्डन, जर्मनी, फ्रान्स, इजरायल यात्राको क्रममा देखे, सुनेका कुराहरूको सेरोफेरामा उपन्यास लिपीवद्ध गरेका छन् । जहाजमा यात्रा गर्ने क्रममा वम्वइमा म पात्रसँग इसाई धर्मालम्वी लेवनानी पत्रकार मिस मार्गरेटसँग भेट हुन्छ । मार्गरेट यहुदीका कट्टर विरोधी हुन्छे । अन्तराष्ट्रिय सङ्गठन यहुदीको प्रतिनिधी डेभिटसँग पनि म पात्रको परिचय हुन्छ । आपसी विरोधी मिस मार्गरेट र डेभिडसँग परिचय गराउन खोज्दा म पात्र असफल हुन्छ । मार्गरेटले डेभिडलाई हत्यारा, अभद्र मान्छे भनी घृणा गरिन्छ । हिटलर र यहुदी दुई सम्प्रदायिक युद्धमा दुई विपरित दिशामा उभिएको हुन्छ । एघार दिनको जहाजयात्रामा म पात्रले विविध चरित्रका ब्यक्तिहरूसँग परिचय हुन्छ । जस्तै: रेवा देसाई, यहुदी बावुछोरा गोल्डवर्ग, भारती लेखक नारायण,मराठी दम्पत्ती, मिसेज म्याकडोनाल्ड, बूढी मेयरनी आदि ।
रेवा देसाइ एक विवाहित हुँदा पनि परपूरूषसँग स्वतन्त्र पूर्वक यौन सम्पर्क गर्नमा कुनै बाधा अड्कन नभएको खुलासा गरिए तापनि साच्चै नै रेवालाई एउटा पतित नारीको रूपमा चित्रण गरिएको छ ।
रेवाजी तपाइँले यो कदापि बिर्सिन हुन्न कि तपाई हिन्दू नारी हो ।
भारतीय संस्कृतिमा नारीको रूप जहिलो पनि आमाको छ ।
आमाको प्रतीकको हो, थाहा छैन ? पृथ्वी ।
चञ्चलताको आग्रह के पृथ्वीलाई सुहाउँछ ?
त्यसो भए के हिन्दु नारीलाई
पश्चिमी नारी सरह स्वतन्त्र आचरणको अधिकार छैन ?
…हिन्दू नारीको प्राचीन रूप जहाँ पनि देख्नमा आएको छ,
मन्दिरमा होस् या पत्थरमा या चित्र–लिपीमा ।
अल्पवासना, यौन पयोधरी, गुरू निताम्विनी
र त्रिवली चित्रित उदरधारिणी ….।
विश्वेश्वरका नरेन्द्रदाई दुःखान्त कथामा आधारित चरित्रप्रधान उपन्यास हो । एक सय पृष्ठ रहेको उपन्यास कोसीतटवर्ती गाउँको पृष्ठभूमी रहेको छ । सत्यघटनामा आधारित यथार्थवादी उपन्यासमा सानुबावुको बाल्य लीला र नरेन्द्र, मुनरिया र गौरीको त्रिकोणात्मक प्रेमलीला प्रस्तुत गरिएको छ । स्त्री र पूरूषको यौन जीवन र यौनप्रसङ्गको चर्चा गरिएको यस उपन्यासमा बावुले नरेन्द्रको सहमति बिना गरिएको विवाह, लोग्ने र स्वास्नीबीचको बेमेल, बावु छोरा बीच भएको मतभेदका कारण देखिन्छ ।
जीवनको अनन्त ज्वालाबाट टिपेको, शब्दमा बाँधिन सकेको भावको नाजुक फिलिङ्गो कविता, जसले कुनै निहित अर्थको सङ्केत हाम्रो अन्तरचेतनामा झल्काउँछ ।
उपन्यासमा नरेन्द्रद्वारा ब्यक्त विचार:
‘मुनरिया, सुखमा स्वार्थ छ । दुःखलाई मात्रै
सार्वजनिक वस्तु बनाउन सकिएला तर दुःख
पनि त एक्लै भोग्नु पर्छ । तर मुनु, दुःख
दुःख भएकाेले त्यसको एक्लो भोगाइले
स्वार्थभोगको संज्ञा पाउदैन । सुखको भोग एकान्तको
वस्तु हो, त्यसमा स्वार्थ निहित छ । सुख प्राप्त
गर्न सक्छौ भने आँखा चिम्लेर त्यसलाई
भोग्नेबाहेक अरू केही बाटो छैन । अरूको
दुःखपट्टि आँखा उठायौँ भने सुखकोभोगकाे
सम्भव हुन्छ र ?’
विश्वेश्वरले निबन्ध विधामा पनि कलम चलाएका थिए । उनले प्रेमको व्यवहार शीर्षकमा निबन्ध लेखेका थिए भने कवितातर्फ बारीको कुरो, बस्टापुष्प, छोरी र छाया, एउटा सन्धी एक सम्झौता, नखिचिएको तस्वीर सुन्दर, पोखरा , बादल: गोल गोल, कोमल कोमल , वर्षाले पोतेको दृश्य, कोशी कौशिकी, बगरको घोँचो र टाढाको कल्पना शीर्षकमा जम्मा १३ वटा गद्य कविता लेखेका छन् । उक्त कविताहरू सङ्कलन गरी हरिप्रसाद शर्माको सम्पादनमा प्रकाशित छन् । सन् १९६४ मा रचित ‘टाढाको कल्पना’ शीर्षक कविताको अंश:
धरतीलाई बन्ध्याकरण गरेर
उसको उर्बरताको कैद गरेर
सिमेन्ट र बालुवाले रोकेको छ
यहाँ धरतीको स्निग्धतालाई बन्द गरेको छ
यो चार दिवारमा
धरती पनि टाढाको कल्पना
केही वर्ष पहिलेको सम्झना’
खेतको आली
धान लहलहाउदै
धरती टाढाको कल्पना
धरती अनादी कालमा कतैबाट निस्किएअर
धरती मनुष्यले पाइला टेकेको आँगन
छेउबारले पनि नछेकिने
घामपानीमा, इन्द्रेणीमा
एक्लै पनि मुस्कुराइरहेको
घेराभित्र पनि उन्मुक्त जस्थो
धरतीब्टाधाको कल्पनाजस्तो ।
उनले पहिलो कविता ‘वम्वइप्रति’ हो । वम्वई सहरमा हुने गरेको काहाली लाग्दो राजनैतिक अवस्थाको चित्रण यसरी गरेका छन्:
वम्वाई ! ए वम्वाई !!
एक दिन तेरो विपुल वैभव,
विशाल अट्टालिकाहरूको झ्यालबाट चिहाईचिहाई
दुःखीहरूलाई उपेक्षाले हेर्दथ्यो
उन्मक्त अट्टहास गर्दथ्यो
ती गरिबीहरूको फाटेको कपडालाई
श्रमजीवीहरूको दुर्वल हड्डीलाई
पर्खालकिल्लाहरू खडा भएका थिए ।
तेरो ढोकामा ऐश्वर्यको कोलाहल मच्चिरहन्थ्यो
त्यसको भीषण रवमा ती सन्त्रस्तहरूको क्षीण पुकार
तेरो मस्त कानमा पुग्न पाउदैनथ्यो ।
उनले १५/२० वटा नेपाली अङ्गेजी र हिन्दी भाषमा कविता लेखे । विश्वेश्वरको रूचीको विषय कविता नभए तापनि कवितालाई मन पराउथे । कविताको बारेमा उहाँ यसो भन्नु हुन्थ्यो “जीवनको अनन्त ज्वालाबाट टिपेको, शब्दमा बाँधिन सकेको भावको नाजुक फिलिङ्गो कविता, जसले कुनै निहित अर्थको सङ्केत हाम्रो अन्तरचेतनामा झल्काउँछ । ”
त्यसैगरी, वि.पि.को कृतित्व, व्यक्तित्वको बारेमा अन्य विभिन्न विद्वानहरूले हजारौंको सङ्ख्यामा लेख÷रचना प्रकाशित गरेका छन् ।
वि.सं.२०३८ मा नेपाली साहित्यिक क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै साहित्यिक पत्रकारसंघले सम्मान स्वरूप नागरिक अभिन्नदन गरेको थियो ।
हेर्दा साधारण रूपमा विश्वेश्वरप्रसाद कोइराला समाजमा देखा परे । दिगो रूपमा आफूलाई उभ्याउन त्यति सजिलो छैन । नझुक्ने स्वभावका थिए विश्वेश्वर । झुकेको भए अरू नेताजस्तै फालिन्थे कि । एउटा सिङ्गो युगको प्रतिनिधित्व जसले पायो उसले गर्न सक्तैन । वि.पि. कोइरालाको नाम सुन्ने बितिक्कै शीर झुकाउनुपर्ने हुन्छ । बौद्धिक रूपमा विश्वेश्वरले देखाएको अडानको आफ्नै भूमिका छ । ठूलो हुन खोजेनन्, झुकेर वीरत्वको प्रदर्शन गर्न चाहेनन् बन्दुक उठाए विश्वेश्वरले । जति दुःख सहनु परे पनि कम्मर कसे विश्वेश्वरले । असल मानिस बन्ने विश्वेश्वरको धोको थियो । साधारण खालका चरित्रका मानिस नभएको कारणले नै होला साधारण खाले राजनीति कहिले पनि खेलेनन् । त्यस्तै साहित्यमा पनि उनले साधारण खालका चरित्रलाई महत्व नदिएर विशेष खालको चरित्रलाई समाजको अगाडि उभ्याइदिए । राजनीतिमा जति चर्चित छन्, उत्तिनै साहित्यमा पनि चर्चित हुनु कम कुरा होइन । नेपाली पृष्ठभूमिका आफ्नै खाले दर्शनिकको रूपमा पनि हेर्नेले हेर्ने नै छन्–विश्वेश्वरप्रसाद कोइरालालाई ।
विश्वेश्वरको साहित्यिक व्यक्तित्वलाई लिएर कतिले विद्यावारिधि उपाधि प्राप्त गरिसकेका छन् । विश्वविद्यालयका स्नातक र स्नातकत्तोर तहमा समेत उनको आख्यानकारिताको गहन पठनपाठन हुँदै आएको छ । तसर्थ, उहाँले साहित्य फाटँमा छाडेका रचना/कृति कालजयी छन् भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् भने उनले राजनीतिक क्षेत्रमा प्रतिपादन गरेका समाजवादी दर्शनको बाटोमा सम्पूर्ण नेपाल र नेपालीहरू उन्मुख हुनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
अन्तत: वि.सं. २०३९ साउन ६ गते साँझ क्यान्सर रोगबाट पीडित विश्वेश्वरप्रसाद कोइरालाको मृत्यु भयो । उहॉको शवयात्रामा बिशाल मान्छेहरूको उपस्थिति थियो । नेपाली जनताहरूका आँखाबाट आँसुका थोपा बरबरी झरेका थिए । यो नै विश्वेश्वरप्रसाद कोइरालाप्रति ठूलो सम्मान थियो ।लेखक ः नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव हुनुहुन्छ ।