
गोरु जुधाएर मनोरञ्जन लिने परम्पराको थालनी भएको यकिन त छैन तर धार्मिक सांस्कृतिक मान्यताहरुलाई हेर्ने हो भने नुवाकोटको तारुका र वेत्रावतीमा गोरु जुधाउने परम्परालाई भने धार्मिक मान्यतासँग जोडिएको छ । तारुकाको गोरु जुधाउने परम्पारसँग करिब दुई सय वर्षको इतिहास जोडिएको भनिन्छ ,बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह मावली घर नुवाकोट आउँदा उनको मनोरञ्जनका लागि गोरु जुधाएर देखाइएको र त्यसपछि सर्वसाधारणको मनोरञ्जनका लागि पनि गोरु जुधाउने परम्परा सुरुवात भएको बुढापाकाहरुले बताउने गरेका छन् ।
यस्तै नुवाकोटको बेत्रावतीमा पनि यस्तै गोरु जुधाउने परम्परा छ । त्यस क्षेत्रमा भने नेपाल भोटबीचको युद्धपछि यसको सुरुवात भएको हो । यसको इतिहास पनि लामै छ । तर वास्तविक रुपमा भने किसानहरुले गोरु जुधाउने अर्कै कथा छ । उनीहरु वर्खाभरि गोरुलाई चिसोमा नै राखेर आफ्नो खेतीवाली उत्पादनका लागि खनजोतमा प्रयोग गर्थे । जब बर्षात सकिन्छ हिउँद लाग्छ अनी आफ्ना खेतबारीबाट उत्पादन हुने घास पराल, नल खुवाउँदै गोरुलाई घाममा राख्ने,कतिपयले त अझ तेल लगाएर मालिस समेत गर्थे अनि ठुला ठुला बारीका पाटामा एक अर्काको गोरु छाडिदिने र केही समय आफूहरु घाम ताप्दै मनोरञ्जन लिने गर्दथे । यो परम्पारले छर छिमेकमा मनोरञ्जनकासाथै एक प्रकारको आत्मीयता पनि कायम हुन्थ्यो । यो सिंगो देशभरि जस्तै हुन्थ्यो । गाउँ पाखा, बेसी सबै ठाउँमा हुन्थ्यो । तर पछिल्लो समय यसलाई एउटा पर्वका रुपमा, मेला नै आयोजना गर्ने परम्पराको सुरुवात भएको छ ।
अझ राज्यका प्रमुख व्यक्तिहरु आफै त्यसको उद्घाटन् गर्न पुग्ने गरेका छन् । यसले दिने के हो र हामीलाई के फाइदा हुन्छ भन्ने कुराको कुनै वैज्ञानिक पुष्टि हुन सकेको छैन । न त यसका लागि भने किसानहरुले गोरु पाल्ने गरेको अवस्था छ कुनैपनि वैज्ञानिक तर्क नभएको पछिल्ला यो परम्परा हामी किन धानिरहेका छौं । के हामीले पशुको पनि आत्म हुन्छ र उनीहरुबीच जुधाएर सिड. फुकालेर रगताम्मे बनाएर छाड्दा उनीहरुलाई पर्ने प्रभावका विषयमा कहिलेई सोचेका छौं त अब यसको प्रश्न पनि खोज्ने बेला भएको छ । हामी आज आधुनिकिकरणको फेरोमा लम्किसकेका छौं । विश्वले कस्ता कस्ता प्रविधि र प्रयोग मार्फत आफूलाई शासनकासाथ स्थापित गराइसकेका छन । हामी भने पशु जुधाएर त्यसको तस्बिरहरु बेचेर आफूले महान कार्य गरेको अनुभूति गर्दैछौँ ,अब त्यो सुहाउँदैन र यसले हामीलाई कुनै पनि अग्रगमनको बाटोमा लैजान सक्दैन । यसर्थ यसलाई राज्यका निर्देशक तहबाट परिमार्जन गर्नेतर्फ ध्यान दिन चित हुने देखिन्छ