
शुकदेव दाहाल
साताको बहस
नेपालको राजनीतिमा वैकल्पिक शक्तिको रुपमा उदय हुँदै गरेको पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी, जसको नेतृत्व पूर्व पत्रकार रवि लामिछानेले गर्दै आउनु भएको छ । पत्रकारिता क्षेत्रबाट राम्रो नाम र दाम समेत कमाएपछि राजानीतिमा प्रवेश गरेका रवि लामिछानेले गठन गर्नुभएको पार्टीले संसदको आम निर्वाचनमा भाग लियो र संसदको चौथो ठूलो दलको रुपमा स्थापित हुन पुग्यो । पार्टी गठन भएको ६ महिनामा नै स्थापित भएको पार्टीले समानुपातिक मतका आधारमा पनि संसदमा सानदार रुपमा स्थापित भएको छ । तर यतिखेर सो पार्टीका नेता रवि लामिछाने सार्वजनिक रुपमा विवादमा तानिएका छन् । उनी जब राजनीतिमा प्रवेश गरे तब उनका कमजोरीहरु बाहिर आउन थाले, यो स्वभाविक पनि देखिन्छ ।
राजनीति सामान्य हैसियत र क्षमता भएकाहरुले गर्न सकदैनन् भन्ने कुरा विगतले देखाएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमार्फत जनताका अधिकार स्थापित गर्ने क्रममा धेरै सहादत प्राप्त गरेका छन् । राजनीतिक नेताहरुले धेरै दुःख र कष्टकासाथ जेल नेल भोगेर लडेर ल्याएको यो व्यवस्था हो ।
नेता हुन हिजोका दिनमा जति दुःख कष्ट थियो, हण्डर ठक्कर खानुपर्दथ्यो, जुनसुकै बेला पनि आफूलाई तिलाञ्जली दिन पनि तयार हुनुपर्दथ्यो त्यो अवस्थामा पनि आफुलाई समर्पित भएर नेता भएर देश र पार्टीको नेतृत्व गरिरहेका छन् । तर उनीहरुले सहि रुपमा देश र जनताको प्रतिनिधित्व गरेर मुलुकलाई आर्थिक, सामाजिक रुपमा अघि बढाउन नसकेका कारण आज जनतामा नैराश्यता बढेको अवस्था हो । नेताहरुले जसरी लडेर लोकतन्त्रमार्फत जनताका अधिकार स्थापित गराए त्यहि अनुसारको आर्थिक , समाजिक विकास भए भए आज रवि लामिछानेहरु जस्ता गैरराजनीतिक चरित्र भएकाहरुले खोलेको पार्टी स्थापित हुने अवस्था आउँदैन थियो ।
जनतामा देखिएको त्यहि नैराश्यताकाबीचमा खेल्दै लामिछाने एउटा आशाको केन्द्र बन्न पुगेको हुन । रवि जसरी आफू आशाको केन्द्र बन्न पुगे उनको आफ्नो धरातल पनि सफा राख्नुपर्ने थियो । आफू कस्तो छु भन्ने पहिला नहेरी अरुलाई गाली गर्दा यतिखेर रवि आफै फन्दामा परेका छन् । कतिपय उनको क्रियाकलाप जानजान भएको होलान, तर अहिलका धेरै प्रशंगहरु भने आवश्यक विधि र प्रक्रियासँग जानकार नभएका कारण पनि भएको जस्तो देखिन्छ । जसका कारण उनी आफै यतिखेर विवादित मात्रै बन्न पुगेनन् आफ्ना राजनीतिक र सामाजिक चरित्रमा पनि दाग लाग्दै गएको छ ।
हुनत उनका समर्थकहरुले उनलाई गलत नै नगरेको भन्दै भग्वानका रुपमा पुकार गर्दै आएका छन् । उनले पनि आफूलाई आफ्ना कमजोरीहरुलाई स्वीकार गर्नुभन्दा पनि आफू सहि नै भएको जिकिर गर्दै आएको अवस्था छ । तर यो घटनाक्रमले उनी मात्रै होइन उनले नेतृत्व गरेको पार्टी रास्वपालाई समेत कमजोर बनाउँदै लगेको छ । उनको पार्टीमा रहेका स्वर्णीम वाग्ले, अनिल केशरी शाह जस्ता व्यत्तित्वहरुले आफ्नो उचाईमा रहेको सार्वजनिक जीवनलाई पनि तिलाञ्जली दिने ढंगले रविको पक्षमा वकालत गरिरहेका छन् । यसले स्वयं पार्टी र देशले वौद्धिक व्यक्तित्वका रुपमा स्वीकार गरेका व्यक्तित्वहरुको शाख पनि गिर्दै गएको अवस्था छ । यसबाट रास्वपा त कमजोर बन्छ नै राजनीति संस्कार र समाजलाई पनि कता लैजान्छ भन्ने अनुमान गन सकिदैन । लामिछानेमाथि लागेको कतिपय आरोप पुष्टि भैसकेका छैनन् ।
उनले त्यसको धैर्यतासाथ सहयोग गरेर आफूलार्य क्लिनचिट लिन सक्नुपर्दछ या भागिदार हुनुर्दछ । यसबाट भनेउनको पार्टी जोगिनु राम्रो हुने देखिन्छ । हिजोका दिनमा पनि राजनीतिकर्मीमाथि अनेक आरोपहरु लाग्ने गेका थिए र ति सबै पुष्टि भएका पनि थिएनन् तर उनीहरुले धैर्यताकासाथ सामना गर्न सकेका कारण नै उनीहरुका राजनीतिक जीवन थप उचाईमा पुगेको थियो । यसर्थ लामिछानेले आफूमाथि लागेका आरोपहरुलाई सहज रुपमा सामाना गर्ने हिम्मतासाथ पार्टीलाई जोगाउनतर्फ ध्यान दिए राम्रो हुने देखिन्छ ।