
निरंकुश शासन व्यवस्थाको विरुद्धमा आवाज उठाएर जनताको हकअधिकारका लागि निस्वार्थ रुपमा लडेर आफ्नो प्राणोत्सर्ग गर्ने ति महान व्यक्तित्वरुलाई सहिदमा रुपमा सम्मान गर्ने गरिएको लामै समय भएको छ । विशेष गरेर राणा शासनको अन्त्यमा लागि युवाहरुले चलाएको क्रान्तिका कारण उनीहरुलाई कलिलो उमेरमा मृत्युदण्ड दिइएको थियो । राणाहरुले देशद्रोहीका रुपमा उनीहरुलाई मृत्युदण्डजस्तो सजाय दिएका थिए । तर त्यसपछिका प्रजातान्त्रिक शासन व्यवस्थामा भने उनीहरुलाई शहिदको रुपमा सम्मान हुँदै आएको छ ।
जनताको हकअधिकारका लागि प्राणोत्सर्ग गर्ने वीर सपुतको सम्झनामा २०१२ सालदेखि निरन्तर रुपमा सहिद दिवस मनाउँदै आएको इतिहास हाम्रा सामु साक्षी रहेको छ । मुख्य रुपमा माघ १६ गतेको दिन सहिद दिवसका लागि यस कारण रोजिएको थियो कि शुक्रराज शास्त्रीलाई १९९७ साल माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा सरकारले मृत्युदण्ड दिएको थियो । जसको सम्झनामा सरकारले माघ १६ गते सहिद दिवसका रुपमा मनाउन थालेको इतिहासमा उल्लेख छ । त्यसो त त्यसअघि पनि देश र जनताका लागि लडेका अन्य धेरै व्यक्तित्वहरु पनि थिए तर उहाहरुलाई समेत सम्झदै माघ १६ गते सहिद दिवसका रुपमा मनाउन थालिएको मानिन्छ । नेपाली जनताको बलमा १०४ वर्षीय शासनसत्ता परिवर्तनको पहिलो चरण २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि पूरा भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा भएको क्रान्तिले राणाहरुलाई घुटा टेकाउन सफल भएको थियो ।
यद्यपि त्यतिबेला अझै राणाका अवशेषहरु बाँकी थिए र उनीहरुसँग सम्झौता गर्दै प्रजातान्त्रिक विरुवा रोपिएको थियो । प्रजातन्त्रको त्यो विरुवा फक्र्रन भने २०१५ सालसम्म कुर्नुपर्यो । जनताले आफ्नो मतमार्फत जनप्रतिनिधि चुन्ने अवसर ०१५ सालमा मात्रै पाए । त्यतिबेला भएको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाईमतकासाथ सरकारको नेतृत्व गर्न सफल भयो । वीपी कोइरालाको नेतृत्वमा पहिलो पटक गठन भएको जननिर्वाचित सरकारले जनताका लागि धेरै ठुला ठुला काम सुरु गरेको थियो । तर तत्कालिन राजा महेन्द्रलाई त्यो मन परेन र उनले पुन ः सत्ता आफ्नो हातमा थिए र दलहरुलाई प्रतिवन्ध लगाए । यसरी जनताको बलबाट आएको प्रजातन्त्र खोसियो र नेताहरुलाई जेल हालियो । यो क्रमसँगै जनताले फेरि आफ्नो अधिकार फिर्ता लिन ३० वर्ष पर्खनु पर्यो । २०४६ सालमा भएको जनआन्दोलबाट फेरि जनताका अधिकार पुनस्थापित भए । २०४७ सालमा संविधान जारी गर्दै भएको आम निर्वाचनपछि देशले प्रजातन्त्रको उपयोग गर्न पाएको हो । त्यतिबेला पनि प्रजातन्त्रका लागि धेरैले आफ्नो ज्यानको बलिदानी दिनुपरेको थियो ।
प्रजातन्त्रलाइ सफल रुपमा प्रयोग गर्न नपाउँदै फेरि अनेक प्रकारका अल्झनका कारण २०५८ साल माघमा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता लिए र दलहरुलाई प्रतिवन्ध जस्तै गरिदिए । जसका कारण फेरि जनताले २०६२।०६३को जनआन्दोलनमार्फत गणतन्त्रका लागि १९ दिने जनआन्दोलन गरे, जसलाई माओवादीको जनविद्रोह पनि साथ दिएको थियो । जनआन्दोलनका लागि फेरि धेरैले ज्यान गुमाउन पुगे । यसरी लोकतन्त्र आउँदासम्म नेपालमा सातहजार भन्दा माथि सहिदको संख्या पुगिसकेको छ । तर कतिपय अवस्थामा भने सहिद बनाउने होडबाजी पनि चलेको देखिन्छ । कस्ता व्यक्तिलाई सहिद बनाउने भन्ने विषयमा समेत बहस हुन थाल्यो, जसले सहिदप्रतिको सम्मानमा आँच पुग्न थालेको जस्तो भान हुन थालेको छ । अर्कोतर्फ जुन उदेश्यकासाथ सहिदले बलिदानी दिएका थिए त्यो अनुसार आज देशले गति लिन सकिरहेको छैन । पछिल्लो पटक मुलुकमा लोतन्त्रका लागि लाखौं जनता सडकमा ओर्लिएर आन्दोलन गरे, उनीहरुले नेताहरु र पार्टीहरुलाई सत्तामा पुर्याउन मात्रै गरेका थिएनन् । जनताले शान्ति र समृद्धिको परिकल्पना गरेर दलहरुलाई साथ दिएका थिए । तर लोकतन्त्र स्थापना भएको यतिकासमयसम्म पनि त्यसलाई संस्थागत रुपमा विकास गर्न सकिएको छैन ।
मुलुकमा बेरोजगारीको अवस्था बढिरहेको छ । लाखौं युवाहरु विदेश पलायन छन् । किसानले उत्पादन गरेको वस्तुले बजार पाउन सकेको छैन । शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रहरु नि धनी र गरिबका रुपमा बाडिएको स्थिति छ । यि तमान समस्याहरु सम्बोधन गर्न सक्षम र सबल सरकार र राजनीतिक दल सक्षम हुन्छन भन्ने मान्यतामाथि नै प्रश्नचिन्ह्र खडा भएको छ । तर पनि लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको हुँदा दलहरु बाहेको अर्को विकल्प हामीसँग छैन । यसर्थ राजनीतिक दलहरुले यसलाई सम्झेर देश र जनताप्रति आफूलाई जिम्मेवार रुपमा प्रस्तुत गर्न सक्नुपर्दछ,तबमात्र ति तमाम सहिदहरुको आत्माले पनि शान्ति पाउँनेछ । सहिद दिवसका अवसरमा सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धासुमन ।